काठमाडौँ – वर्षौँदेखि बाढी, कटान र विस्थापनका कारण त्रसित बनाउँदै आएको सप्तकोशी नदी पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यको रूपमा चिनिन थालेको छ। कोशी किनारमा पर्यटन सम्भावना पहिचान गर्दै आएका रामसुन्दर बकेका अनुसार स्थानीय व्यवसायी, स्थानीय तह र समुदायको संयुक्त पहलले अबको कोशी ‘विनाशको होइन, विकास र सम्भावनाको नदी’ बन्दै गएको छ । बकेका अनुसार स्थानीयसँग निरन्तर संवाद, सही सोच र योजनाबद्ध प्रयत्नले कोशी किनारको रूपमै परिवर्तन भइसकेको छ। “पहिले कोशी सुन्दा बाढी र विनाशको सम्झना आउँथ्यो, तर अवसरको सही उपयोगले यही नदी अब समृद्धिको स्रोत बनेको छ,” बकेले बताए ।
सिसौलीघाटमा दैनिक हजारौँ पर्यटकको आगमन
बराह क्षेत्र–सुसौलीघाट आसपास पछिल्लो समय सूर्यास्त अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटकहरूको बाक्लो उपस्थितिले क्षेत्रको आकर्षण झनै बढाएको छ। सिसौलीघाट–बोराबाँध क्षेत्रमा सञ्चालनमा आएको मोटरबोट सेवा अत्यधिक लोकप्रिय बन्दै गएको छ । स्थानीयका अनुसार बगर क्षेत्रमा स्थानीय परिकार, किराना पसल तथा साना व्यवसाय खुलेसँगै दैनिक व्यापार उल्लेख्य रूपमा बढेको छ । पर्यटन चहलपहल बढेपछि बगर र खेतमा बसोबास गर्ने स्थानीयहरू होटल, स्थानीय खाद्य व्यवसाय, हस्तकला तथा अन्य सेवामूलक उद्यममा लाग्न थालेका छन् । “पहिले उत्पादन नहुने खेत र बगरमा आज पर्यटकको भीड लाग्छ, दिनमै राम्रो आम्दानी हुन्छ,” एक स्थानीयले बताए । विदेशमा रहेका परिवारका सदस्यलाई ‘अब गाउँमै रोजगारीको राम्रो अवसर छ’ भन्दै फर्किन आग्रह गर्ने क्रम समेत बढेको छ ।
पालिकाको सहकार्यले परियोजना अघि बढ्यो
पर्यटन सम्भावना पहिचानपछि बकेले पालिका प्रमुख, कार्यकारी प्रमुख र वडा अध्यक्ष कपिल आचार्यसँग निरन्तर समन्वय गरेका थिए। आवश्यक जग्गा पहिचानदेखि परियोजना सञ्चालनका लागि पालिकाले सकारात्मक भूमिका खेलेपछि विकासका काम सहज रूपमा अघि बढेको बकेले बताए ।
गोवाको झल्को दिने नयाँ कोशी
पहिले सुनसान देखिने कोशी किनार अहिले मनोरञ्जनस्थलमा परिणत भएको छ । अस्ताउँदै गरेको सूर्यको सौन्दर्य, फोटो खिच्ने स्थान, समूहगत भ्रमण, स्थानीय भोजन चाख्ने अवसर तथा प्राकृतिक दृश्यका कारण यहाँ पर्यटकहरूको उल्लेख्य भीड देखिन थालेको छ। माछा मार्दै आएका ‘माझी दाइ’देखि खेतपाती गर्ने स्थानीयसम्म सबैले पर्यटनबाट प्रत्यक्ष–अप्रत्यक्ष लाभ लिन थालेका छन् ।
कोशीलाई आधिकारिक पर्यटन क्षेत्र घोषणा गर्न माग
स्थानीय समुदाय, व्यवसायी र परियोजना पहलकर्ताले सप्तकोशीलाई सरकारले औपचारिक रूपमा ‘पर्यटन क्षेत्र’ घोषणा गर्नुपर्ने माग राखेका छन् । साथै पूर्वाधार विकास, सरसफाइ, आतिथ्य सत्कार तालिम तथा पर्यटनसम्बन्धी जनचेतना कार्यक्रम सञ्चालनका आवश्यकता औंल्याएका छन् । बाढी, कटान र विस्थापनको पहिचान बोकेको कोशी अहिले रोजगारी, आयस्रोत र अवसरको मुहान बन्दै गएको छ ।“कोशीलाई सही तरिकाले बुझेर, योजनाबद्ध रूपमा उपयोग गर्न सकियो भने यो नदी विगतका पीडा र क्षतिको प्रतीक मात्र रहने छैन, बरु विकास, समृद्धि र अवसरको ठूलो आधार बन्न सक्छ,” बकेले भने ।
उनका अनुसार स्थानीय तह, प्रदेश र संघीय सरकारले समन्वय गरेर कोशी किनारका बस्ती, प्राकृतिक सुन्दरतामा आधारित पर्यटन सम्भावना, साहसिक जलक्रीडा, स्थानीय संस्कृति र जीविकासँग सम्बन्धित योजनालाई प्राथमिकता दिएमा कोशीले पूर्वी नेपालकै आर्थिक रुपान्तरणमा ऐतिहासिक योगदान दिन सक्छ ।





प्रतिक्रिया दिनुहोस्