Skip to content

एकै वर्षमा पाँच पटक लोकसेवा पास : कलावती भट्टको संघर्ष र सफलताको कथा

लोकसेवा आयोगको परीक्षा नेपालकै सबैभन्दा कठिन र प्रतिस्पर्धात्मक परीक्षामध्ये एक हो । हजारौँ प्रतिस्पर्धीका बीच सीमित सिटका लागि हुने प्रतिस्पर्धामा सफलता हात पार्नु सहज हुँदैन । तर निरन्तर प्रयास, स्पष्ट लक्ष्य र आत्मअनुशासन भयो भने असम्भव केही छैन भन्ने कुरा कलावती भट्टले प्रमाणित गरेकी छन् । उनले एक वर्षभित्रमा लोकसेवा आयोगका पाँच फरक–फरक परीक्षामा नाम निकाल्दै असाधारण सफलता हासिल गरेकी छिन् । लोकसेवा तयारीको यात्रामा उनले असफलता, मानसिक दबाब र समयको अभावजस्ता थुप्रै चुनौती सामना गरिन् । तर ती चुनौतीहरूलाई कमजोरी होइन, सिकाइको अवसरका रूपमा लिँदै अगाडि बढिन् । उनी भन्छिन्, “लोकसेवा तयारीमा सबैभन्दा महत्वपूर्ण कुरा निरन्तरता हो। एक–दुई पटक असफल हुँदैमा निराश भइहाल्नु हुँदैन।” नियमित अध्ययन तालिका, गुणस्तरीय सामग्री र लेखन अभ्यास नै आफ्नो सफलताको आधार भएको उनको अनुभव छ । लोकसेवा भाग्यमा होइन, योजनाबद्ध मेहनतमा निर्भर हुन्छ भन्ने सन्देश उनले आफ्ना सफलतामार्फत दिएकी छन् ।

छ वर्षको प्रतीक्षा र निरन्तर संघर्ष

कलावतीले अहिलेसम्म लोकसेवाको लिखित परीक्षामा कुल ६ पटक नाम निकालिसकेकी छन् । २०७५ सालमा दिपायलबाट सहायक महिला विकास निरीक्षक पदको लिखित परीक्षा पास गरेकी उनले अन्तिम सफलता पाउन भने करिब ६ वर्ष कुर्नुपर्यो । २०८१ असारमा गण्डकी प्रदेशबाट स्थानीय प्रशासन सेवा, पाँचौँ तहमा वैकल्पिक सूचीमा सिफारिस भइन् । २०८१ भदौमा सामाजिक सुरक्षा कोषको कानुन सहायक (पाँचौँ तह) को लिखित परीक्षा पास गरिन् तर फेरि वैकल्पिकमै परिन् । त्यसपछि २०८१ पुषमा बाग्मती प्रदेश महिला विकास निरीक्षक (पाँचौँ तह)को लिखित परीक्षा (खुला तथा महिला) पास गरिन् । अन्तरवार्ता पश्चात नतिजा प्रकाशनमा ढिलाइ भइरहेकै बेला गण्डकी प्रदेशको वैकल्पिक सूचीबाट गोरखाको पालुङटार नगरपालिकामा स्थानीय प्रशासन सेवा पाँचौँ तहमा सिफारिस भइन् । २०८२ जेठमा नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको सहायक प्रबन्धक (सातौँ तह)को लिखित परीक्षा पास गरिन् । यसपटक पनि वैकल्पिक सूचीमा परे पनि पछि सोही पदमा वैकल्पिकबाटै सिफारिस भई कार्यरत छिन् । त्यसैगरी २०८२ मंसिरमा संघीय लोक सेवा आयोग, काठमाडौं कार्यालयले लिएको न्याय सेवा (नासु वा सो सरह)को लिखित परीक्षामा पनि उनी सफल भएकी छन् ।

सरकारी विद्यालयदेखि कानूनसम्मको शैक्षिक यात्रा

कलावतीले तल्लो तहदेखि उच्च शिक्षासम्म सरकारी विद्यालय र क्याम्पसहरूबाटै अध्ययन गरेकी हुन् । डडेल्धुराको भागेश्वर मावि, कटालबाट एसएलसी, सिद्धनाथ उच्च मावि, जोगबुडाबाट शिक्षा संकायमा प्लस टु, त्रिवेणी बहुमुखी क्याम्पस, जोगबुडाबाट स्नातक तह उत्तीर्ण गरिन् । त्यसपछि जनज्योति बहुमुखी क्याम्पस, कञ्चनपुरबाट स्नातकोत्तर र नेपाल ल क्याम्पस, काठमाडौं बाट एलएलबी समेत पूरा गरिन् । सरकारी विद्यालयप्रति अभिभावक उदासीन देखिँदै गएको सन्दर्भमा उनको सफलता समाजका लागि उदाहरण बनेको छ । उनी भन्छिन्, “कुन विद्यालयमा पढियो भन्ने होइन, कति मिहिनेत गरियो भन्ने महत्वपूर्ण हो।”

परिवार, संघर्ष र आत्मनिर्भरता

डडेल्धुराको परशुराम नगरपालिका–३ मा जन्मिएकी कलावती मध्यम वर्गीय परिवारकी जेठी छोरी हुन् । उनका दुई भाइ छन् । उनको यो सफलतामा भाइहरुको समेत ठूलो योगदान रहेको उनी बताउँछिन् । परिवारको आर्थिक जिम्मेवारी मुख्यत: बुवामाथि नै थियो । बुवालाई घर धान्नै धौधौँ भइरहेका बेला छोरीलाई  दुइटा डिग्री पढाउन मेरो बुवाले निकै संघर्ष गर्नुपरेको उनी सम्झिन्छिन् । घरबाट २–३ घण्टा हिँडेर पढ्न जानुपर्ने बाध्यता थियो। “तर पनि बुवाले छोरा जस्तै ठानेर मलाई पढाउनुभयो,” उनी भावुक हुँदै भन्छिन् । १२ कक्षा पछि उनले तीन वर्ष शिक्षण पेशा अपनाइन् जसको सुरुवाती तलब २ हजारबाट सुरु भई  तेस्रो बर्षको अन्तिम चौमासिक  ४ हजार पुगेको थियो ।  साथै उनले नेशनल लाइफ इन्स्योरेन्सको एजेन्ट भएर पनि काम गरिन् । ०६९ सालमा इन्स्योरेन्स कम्पनीबाट बाइक समेत प्राप्त गरेको अनुभव उनी सुनाउँछिन् ।

कोभिडको रोकावट र आत्मबल

कञ्चनपुरबाट स्नातकोत्तर सकाएर लोकसेवा आयोगको तयारी गर्नका लागि काठमाडौं आएको बताउछिन् । काठमाडौं आएको केही समय मै कोभिड महामारीका कारणले झण्डै ३ बर्ष लोकसेवाको परिक्षा नभएपछिको नमिठो अनुभव समेत उनको रहेको छ । र अन्त्यमा उनी भन्छिन् मेरो क्षमता,  दक्षता र मिहिनेतको पहिचान गर्दै मलाई  सदैव सकारात्मक उर्जा तथा हौसला प्रदान गर्ने आफ्नो श्रीमानलाई यो सफलताको पहिलो श्रेय दिन चाहेको उनी बताउँछिन् । धैर्य राख्नुस्, आफ्नो क्षमतामा विश्वास गर्नुस् र निरन्तर प्रयास नछोड्नुस्। सफलता ढिलो आउनसक्छ, तर आउँछ ।

प्रतिक्रिया दिनुहोस्