काठमाडौं – बढ्दो महँगीबीच देशको आन्तरिक सुरक्षामा अहोरात्र खटिने नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरूले पाउँदै आएको रासन भत्ताप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । हाल काठमाडौँ उपत्यकामा कार्यरत एक सुरक्षाकर्मीले दैनिक करिब २०० रुपैयाँ आसपास मात्र रासन भत्ता पाउँदा बिहानदेखि रातिसम्मको पोषणयुक्त भोजन व्यवस्थापन गर्न कठिन बनेको उनीहरूको गुनासो छ । सुरक्षाकर्मीहरूका अनुसार यही सीमित रकमबाट बिहानको चिया–नास्ता, दिउँसो खाजा र दुई छाक खाना जोहो गर्नुपर्ने बाध्यता छ। तर बजारमा एक छाक सादा खानाकै मूल्य १५० देखि २०० रुपैयाँसम्म पुगेकाले दैनिक २०० रुपैयाँले पोषणयुक्त भोजन जुटाउन असम्भवजस्तै अवस्था बनेको उनीहरू बताउँछन् ।
बजार भाउ तीव्र रूपमा बढे पनि आर्थिक वर्ष २०७८–७९ पछि रासन भत्तामा उल्लेख्य सुधार नहुँदा सुरक्षाकर्मीको स्वास्थ्य र कार्यक्षमतामै असर पर्न थालेको गुनासो छ । नेपाल प्रहरी स्रोतका अनुसार अन्य सुरक्षा निकायको तुलनामा प्रहरीको रासन ‘स्केल’ र आइटमसमेत कम तोकिएको छ, जसलाई सुरक्षाकर्मीहरूले राज्यकै विभेदको रूपमा लिएका छन् । रासन भत्ता वृद्धिसम्बन्धी प्रस्ताव गृह मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा पुगेको बताइए पनि लामो समयसम्म निर्णय नहुँदा सुरक्षाकर्मीको मनोबल कमजोर बन्दै गएको छ। “देशको सुरक्षामा २४ सै घण्टा खटिने हामी आधारभूत पोषणबाटै वञ्चित छौँ,” एक सुरक्षाकर्मीले गुनासो गरे । यस विषयमा सुरक्षा विज्ञहरूले पर्याप्त पोषण नपाउने अवस्था दीर्घकालमा राष्ट्रिय सुरक्षाकै लागि जोखिमपूर्ण हुन सक्ने चेतावनी दिएका छन् । उनीहरूले महँगीअनुसार रासन भत्ता तत्काल समायोजन नगरे सुरक्षाकर्मीको स्वास्थ्य, कार्यक्षमता र मनोबलमा गम्भीर असर पर्ने बताएका छन् । सरकारले सुरक्षाकर्मीको वास्तविक आवश्यकता र वर्तमान बजार मूल्यलाई मध्यनजर गर्दै रासन भत्ता समयमै पुनरावलोकन गर्नुपर्ने माग चर्किँदै गएको छ ।





प्रतिक्रिया दिनुहोस्