बैतडी – नेपाली कांग्रेस जिल्ला कार्यसमिति बैतडीको आयोजनामा डिलाशैनी गाउँपालिकामा भव्य राजनीतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशन तथा फागुन २१ गते हुने निर्वाचनका विषयमा बृहत् छलफल गरिएको थियो। कार्यक्रम नेपाली कांग्रेस डिलाशैनी गाउँपालिका सभापति जयराज जोशीको सभापतित्वमा सम्पन्न भएको हो । प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सभापति, नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दको उपस्थिति रहेको थियो। कार्यक्रममा कांग्रेस युवा नेता वीर बहादुर बिष्ट, जिल्ला कार्यसमिति पदाधिकारीहरू, प्रदेश सभा क्षेत्र नम्बर ‘क’ र ‘ख’ का पदाधिकारी तथा प्रतिनिधिहरू, नेपाली कांग्रेसबाट निर्वाचित नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, महाधिवेशन प्रतिनिधिहरू, महासमिति सदस्य, प्रदेश प्रतिनिधि, भातृ संगठनका प्रतिनिधि तथा ठूलो संख्यामा नेता–कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
उक्त अवसरमा स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) परिषद नेपालका केन्द्रीय उपाध्यक्ष तथा सेटिगाउँ बहुमुखी क्याम्पस गोकुलेश्वर, बैतडीका स्ववियु अध्यक्ष कृष्ण सिंह रावललाई विशेष सम्मान गरिएको थियो । सम्मानप्रति प्रतिक्रिया दिँदै रावलले नेपाली कांग्रेस जिल्ला कार्यसमिति बैतडीलाई धन्यवाद ज्ञापन गरेका छन् । यसैबीच, काठमाडौँमा सम्पन्न स्वतन्त्र विद्यार्थी यूनियन परिषदको राष्ट्रिय अधिवेशनपछि सेटिगाउँ बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा क्याम्पस परिवार, स्ववियुका पदाधिकारी तथा सदस्य, विभिन्न सेमेष्टरमा अध्ययनरत विद्यार्थी र गुरुजनहरूबाट प्राप्त स्नेह, विश्वास र सहयोगप्रति रावलले कृतज्ञता व्यक्त गरेका छन् । उनले विद्यार्थी हकहितका लागि निरन्तर जिम्मेवार भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।






प्रतिक्रिया दिनुहोस्