काठमाडौँ – नेपाल प्रहरीका डिआईजी जयराज सापकोटालाई प्रहरी प्रधान कार्यालयले कारबाही गरेको छ । कार्य विभागमा कार्यरत डिआईजी सापकोटालाई प्रहरी नियमावली तथा आचारसंहिता विपरीत गतिविधिमा संलग्न भएको ठहर गर्दै ‘नसियत’ दिने निर्णय गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
डिआईजी सरुवाको विषयलाई लिएर सामाजिक सञ्जाल फेसबुकमार्फत सिंगो प्रहरी संगठनको छविमा आँच पुग्ने गरी टिप्पणी गरेपछि मंसिर ११ गते उनलाई प्रहरी प्रधान कार्यालयले स्पष्टीकरण सोधेको थियो । प्राप्त स्पष्टीकरण सन्तोषजनक नदेखिएपछि कारबाहीको निर्णय गरिएको हो । प्रहरी स्रोतका अनुसार डिआईजी सापकोटाले कोशी प्रदेशको कमाण्ड सम्हाल्ने इच्छा व्यक्त गरेका थिए । तर उनको अघिल्लो कार्यकालसँग जोडिएका विवादास्पद पृष्ठभूमिका कारण गृह मन्त्रालयले उनलाई नभई डिआईजी बिनोद घिमिरेलाई कोशी प्रदेशमा खटाउने निर्णय गरेपछि उनले सार्वजनिक रूपमा असन्तुष्टि जनाएका थिए ।
डिआईजी सापकोटा यसअघि काभ्रे जिल्लाको प्रहरी प्रमुख रहँदा कार्यसम्पादन तथा आर्थिक सवालमा कमजोर देखिएपछि ६ महिनामै जिम्मेवारीबाट हटाइएका प्रहरी अधिकारी समेत हुन् ।
अनुशासनहिन गतिविधिमा संलग्न प्रहरी कर्मचारीलाई कारबाही गर्ने जिम्मेवारीमा रहेका एक उच्च अधिकारी स्वयं प्रहरी नियमावली, मिडिया सम्बन्धी नीति तथा प्रहरी आचारसंहिता विपरीत क्रियाकलापमा संलग्न भएपछि कारबाहीको अवस्था सिर्जना भएको प्रहरी स्रोतले जनाएको छ । यस घटनाले प्रहरी संगठनभित्र तल्लो दर्जाका मात्र नभई गल्ती गर्ने सबै तहका अधिकृतहरू पनि कारबाहीको दायरामा आउन सक्छन् भन्ने सन्देश दिएको छ ।





प्रतिक्रिया दिनुहोस्