बाजुरा – मार्तडी–कोल्टी सडक खण्ड अन्तर्गत बडीमालिका नगरपालिका–७ मा निर्माण हुन लागेको रजातोली सडक पुलको शिलान्यास गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पालले एक कार्यक्रमबीच पुल निर्माण कार्यको औपचारिक रूपमा शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री पालले दुर्गम तथा पहाडी जिल्लाको समग्र विकासका लागि सडक र पुलजस्ता भौतिक पूर्वाधार अत्यावश्यक रहेको बताएका छन् । “पूर्वाधार विकास बिना समृद्धि सम्भव छैन,” उनले भने, “बाजुरा जस्ता दुर्गम जिल्लामा पुल निर्माणले जनजीवन सहज बनाउनुका साथै आर्थिक गतिविधि विस्तारमा ठूलो योगदान पुर्याउँछ । रजातोली पुल यस क्षेत्रको विकासमा कोशेढुंगा सावित हुनेछ ।”
मन्त्री पालले निर्माण कार्य समयमै र गुणस्तरीय रूपमा सम्पन्न गर्न सम्बन्धित निकाय तथा निर्माण कम्पनीलाई निर्देशन दिँदै विकास आयोजनामा कुनै पनि प्रकारको लापरबाही सहन नसकिने स्पष्ट पारे । “सरकारले जनताको आवश्यकताका आधारमा योजना ल्याएको हो । अब काममा ढिलाइ होइन, परिणाम देखिनुपर्छ,” उनले थपे ।
पूर्वाधार विकास कार्यालय, साँफेबगर अछामको आयोजनामा निर्माण हुन लागेको उक्त पुल आरसीसी मोटरेबल पुल हुनेछ । पुल एकल स्पानको हुने र यसको लम्बाइ २० मिटर रहने जनाइएको छ । पुलसँगै पहुँच सडक निर्माण, नदी प्रशिक्षण तथा संरक्षणसम्बन्धी कार्य समेत गरिने कार्यालयले जनाएको छ । पुल निर्माणको ठेक्का PK–CPCS–SC JV ले पाएको छ । निर्माणका लागि २०८२ साल चैत २२ गते सम्झौता भई २०८४ साल चैत २० गतेभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाको कुल लागत ३ करोड ५८ लाख २५ हजार १०० रुपैयाँ ९३ पैसा (भ्याटसहित) रहेको छ । स्थानीयबासीहरूले पुल निर्माणपछि वर्षायाममा हुने आवतजावतको समस्या समाधान हुने, सेवा–सुविधामा पहुँच बढ्ने र स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउन सहज हुने अपेक्षा व्यक्त गरेका छन् । कार्यक्रममा सहभागीहरूले विकास निर्माणका कामलाई राजनीतिक स्वार्थभन्दा माथि राखी समयमै सम्पन्न गर्न सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा प्रदेश सांसद पदम बहादुर शाही, जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया, बडीमालिका नगरपालिका प्रमुख अमर खड्का, प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।





प्रतिक्रिया दिनुहोस्