काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोयाममा बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घ रोगीहरूलाई अत्यधिक चिसो समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन अनुरोध गरेको छ । मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै जाडोयाम सुरु भएसँगै तापक्रम सामान्यभन्दा कम हुने, शीतलहर, हुस्सु, कुहिरो तथा हिमपातजस्ता मौसमी अवस्थाले जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने भएकाले जोखिम समूहका व्यक्तिहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको हो ।विज्ञप्तिमा चिसोका कारण रुघाखोकी, ज्वरो, दम बढ्ने, सास फेर्न गाह्रो हुने तथा शीताङ्ग (हाइपोथर्मिया) का लक्षण देखिने बिरामीहरूको संख्या बढ्ने उल्लेख गरिएको छ । यस्तै पछिल्ला वर्षहरूमा जाडोयामसँगै बढ्ने वायु प्रदूषणले मुटु, फोक्सो र मस्तिष्कलगायत अंगहरूमा गम्भीर असर पार्नुका साथै दम, क्यान्सरजस्ता दीर्घ रोगको जोखिम र मृत्युदरसमेत बढाएको मन्त्रालयले जनाएको छ ।
चिसोबाट बच्न मन्त्रालयले धुवाँ–धुलोबाट टाढा रहने, पोषणयुक्त सन्तुलित खाना खाने, न्यानो लुगा लगाउने, भिटामिन ‘सी’ पर्याप्त मात्रामा भएका मौसमी फलफूल तथा सागपात खाने, व्यक्तिगत तथा वातावरणीय सरसफाइमा ध्यान दिने र प्रशस्त झोल पदार्थ सेवन गर्न आग्रह गरेको छ । त्यसैगरी चिसोका कारण देखिने स्वास्थ्य समस्या रहिरहे वा बढ्दै गएमा ढिलाइ नगरी नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ । आगो तथा ताप्ने उपकरणहरू सुरक्षित र खुला स्थानमा मात्र प्रयोग गर्न, प्रयोग नगर्दा निभाउने, ज्वलनशील सामग्री टाढा राख्ने र गिजर बाथरुम बाहिर जडान गर्नसमेत मन्त्रालयले सचेत गराएको छ ।






प्रतिक्रिया दिनुहोस्