काठमाडौं– भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–६, राईटोलमा एक व्यक्तिले आफ्नै कन्चटमा गोली हानेर आत्महत्या गरेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता प्रकाश जबेगुका अनुसार मृतक सनिप चाम्लिङ राई (४०) हुन् । प्रहरीका अनुसार राई दिउँसो करिब ३ः३० बजे साढे चारतले पक्की घरको चौथो तलामा रहेको कोठामा चुकुल लगाई बसेका अवस्थामा मृत फेला परेका हुन्। घटनास्थलमा ‘GS–5’ लेखिएको जर्मन बन्दुक प्रयोग भएको पाइएको प्रहरीले जनाएको छ । उनी सुरक्षाकर्मी हुन् वा सर्वसाधारण भन्ने विषयमा यकिन हुन बाँकी रहेको र घटनास्थलमा प्रहरी वृत्त ठिमीको टोली पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरिएको डीएसपी जबेगुले जानकारी दिए। मृतक अविवाहित रहेको प्रहरीले जनाएको छ । घटनासम्बन्धी विस्तृत विवरण, बन्दुकको स्वामित्व तथा आत्महत्याको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।





प्रतिक्रिया दिनुहोस्