काठमाडौँ – सरकारले राष्ट्रिय आर्थिक गणना, २०८२ का लागि ठूलो संख्यामा जनशक्ति माग गरेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीबार एक सूचना प्रकाशित गर्दै कुल ४ हजार ४ सय ३९ जना कर्मचारी करारमा भर्ना गर्न लागेको जानकारी दिएको हो । कार्यालयले देशभर सञ्चालन हुने आर्थिक गणनाको स्थलगत तथ्याङ्क सङ्कलन तथा सुपरिवेक्षण कार्यका लागि ५ सय २६ जना सुपरिवेक्षक र ३ हजार ९ सय १३ जना गणक माग गरेको हो । सुपरिवेक्षक पदका लागि न्यूनतम स्नातक तह उत्तीर्ण हुनुपर्ने प्रावधान राखिएको छ भने गणकका लागि १०+२ वा प्रमाणपत्र तह उत्तीर्ण गरेका इच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । यो रोजगारी साढे दुई महिनाको करार अवधिका लागि हुनेछ । सेवा सुविधाका हकमा सुपरिवेक्षकले मासिक ३४ हजार ७३० रुपैयाँ र गणकले मासिक ३२ हजार ९०२ रुपैयाँ पारिश्रमिक पाउने सूचनामा उल्लेख छ। योग्यता पुगेका व्यक्तिहरूले सूचना प्रकाशित भएको २१ दिनभित्र अनलाइन माध्यमबाट दरखास्त दिनुपर्नेछ । आवेदकहरूको छनोट सर्टलिस्ट र अन्तर्वार्ताका आधारमा गरिनेछ। इच्छुक व्यक्तिहरूले राष्ट्रिय तथ्याङ्क कार्यालयको आधिकारिक वेबसाइटमा गएर वा उपलब्ध गराइएको क्यूआर कोड स्क्यान गरी आवेदन दिन सक्नेछन् । म्याद नाघी वा रित नपुगी आएका दरखास्तमाथि कुनै कारबाही नहुने कार्यालयले स्पष्ट पारेको छ ।





प्रतिक्रिया दिनुहोस्