टोकियो – एसियाका दुई मित्रराष्ट्र नेपाल र जापानबिचको सात दशक लामो कूटनीतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यका साथ राष्ट्रपति रामचन्द्र पौडेल जापानको राजधानी टोकियो पुगेका छन् । दुई देशबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको विशेष निमन्त्रणा स्वीकार गर्दै राष्ट्रपति पौडेल सोमबार जापानी भूमिमा ओर्लिएका हुन् । चारदिने औपचारिक भ्रमणका सिलसिलामा आइतबार राति काठमाडौँबाट प्रस्थान गरेको राष्ट्रपतिको प्रतिनिधिमण्डल सोमबार बिहान नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । विमानस्थलको विशिष्ट कक्षमा राष्ट्रपति पौडेललाई जापानको विदेश मन्त्रालयका शिष्टाचार महापाल, नेपालका लागि जापानी राजदूत तोरु मायदा तथा टोकियोस्थित नेपाली कार्यवाहक राजदूत हरिहरकान्त पौडेल लगायतका उच्च अधिकारीहरूले भव्य स्वागत गरेका थिए । भ्रमण दलमा प्रथम महिला सबिता पौडेल पनि सहभागी छिन् ।
सम्राट् र प्रधानमन्त्रीसँग भेटवार्ताको तालिका
दुई देशबिचको ‘हिमाल र माउन्ट फुजी’ जस्तै अटल मित्रताको प्रतीकका रूपमा हेरिएको यो भ्रमण राजनीतिक तथा कूटनीतिक हिसाबले निकै अर्थपूर्ण मानिएको छ । भ्रमणको पहिलो दिन सोमबार नै राष्ट्रपति पौडेलले जापान सरकारद्वारा आयोजित ७०औँ वर्षगाँठ विशेष समारोहमा विशिष्ट अतिथिका रूपमा सहभागिता जनाउने कार्यक्रम छ । भ्रमणको मुख्य आकर्षण भोलिको तालिका रहनेछ । माघ २० गते राष्ट्रपति पौडेलले टोकियोस्थित ‘इम्पेरियल प्यालेस’ पुगी जापानी सम्राट् नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्नेछन् । सोही दिन उनले जापानी प्रधानमन्त्री ताकाइची सानाएसँग द्विपक्षीय हित, विकास साझेदारी र आपसी सहकार्यका विषयमा महत्त्वपूर्ण वार्ता गर्ने कार्यक्रम तय भएको छ । साथै, जापानी विदेश राज्यमन्त्री होरिइ इवाओले पनि राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गर्नेछन् ।
उच्चस्तरीय राजनीतिक भेटघाटका अतिरिक्त राष्ट्रपति पौडेलले जापानी व्यावसायिक समुदायसँग अन्तरक्रिया गर्दै नेपालमा लगानीको वातावरणबारे आश्वस्त पार्ने कार्यक्रमसमेत रहेको छ । यसैगरी, नेपाली दूतावासले उनको सम्मानमा आयोजना गर्ने विशेष समारोहमा पनि उनी सरिक हुनेछन् । सन् १९५६ सेप्टेम्बर १ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएपछि नेपाल र जापानबिचको मित्रता निरन्तर प्रगाढ बन्दै आएको छ । दुवै देशले क्रमशः सन् १९६५ र १९६७ मा एकअर्काको राजधानीमा दूतावास स्थापना गरेर सम्बन्धलाई संस्थागत गरेका थिए । सात दशक लामो मित्रताको नवीकरण र भविष्यको सहकार्यको मार्गचित्र कोर्ने विश्वास लिइएको यो भ्रमण सम्पन्न गरी राष्ट्रपति पौडेल आगामी बुधबार (माघ २१ गते) स्वदेश फर्कने कार्यक्रम रहेको छ ।





प्रतिक्रिया दिनुहोस्