Skip to content

बौद्धमा १ करोडको गहना चोर्नेलाई प्रहरीले गोली चलाएर समात्यो

काठमाडौं – काठमाडौंको नागार्जुन नगरपालिका–६ महाँकालबाट प्रहरीले गोली प्रहार गरी ६५ तोला सुनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति बाँके घर भएका प्रेम चौधरी हुन् ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भएका श्रृंखलाबद्ध चोरीका घटनाको अनुसन्धानका क्रममा विशेष सूचनाका आधारमा प्रहरी चौधरीको खोजी गर्दै गएराति नागार्जुन नगरपालिका क्षेत्रमा पुगेको थियो । काठमाडौं प्रहरी परिसरका एसएसपी रमेश थापाका अनुसार गएराति करिब साढे ११ बजे चौधरीलाई नियन्त्रणमा लिन खोज्दा उनले उल्टै प्रहरीमाथि आक्रमण गरेपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको हो । उक्त घटनामा एक जना प्रहरी हबल्दार सामान्य घाइते भएका छन् । काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईका अनुसार पक्राउ परेका चौधरीको खुट्टामा गोली लागेको छ । उनको हाल ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रहरीले चौधरीको साथबाट ६५ तोला सुन, केही चाँदी, नगद रकम तथा घरेलु हतियार बरामद गरेको जनाएको छ । चौधरी काठमाडौं उपत्यकामा भएका श्रृंखलाबद्ध चोरीका घटनाका मुख्य आरोपी रहेको प्रहरीले जनाएको छ ।

यसै साता भोटेबहालमा करिब २५ तोला सुन चोरी भएको थियो भने गत मंगलबार बौद्ध टुसालस्थित एक घरबाट एक करोड रुपैयाँभन्दा बढी मूल्यका गरगहना चोरी भएका थिए । यसका साथै कालिमाटी र ललितपुरका विभिन्न स्थानमा समेत नगद र गरगहना चोरीका घटनाहरू भएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्