Skip to content

हर्क साम्पाङको रबि र बालेनलक्षित टिप्पणीः ७४ लाख सहकारी पीडितबारे किन मौन ?

विराटनगर – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इटहरीमा गरेको प्रादेशिक सभालाई लक्षित गर्दै सहकारीपीडित र एमसीसीबारे प्रश्न गरेका छन् । उनले रास्वपा सभापति रबि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई सभामा सहकारी पीडितका बारे के बोल्नु भो भन्दै प्रश्न गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै साम्पाङले भनेका छन्, ‘१४ जिल्लाका कार्यकर्ता उतारेको सभामा नो एमसिसी भन्ने हिम्मत भयो कि भएन ? ७४ लाख सहकारी पीडितहरूको बारेमा बोलियो कि नाइँ ?’ रास्वपाको सभाले सिंहदरबार जलाएको औचित्य पुष्टि गर्‍यो होला नि भन्दै प्रश्न गरेका छन् । उनले लेखेका छन्, ‘किसानलाई फोहोर भन्नेले मजदुरबारे के भन्यो ? सुकुम्वासीका बारेमा के गर्ने रे डोजरले ?’

इटहरीको सभामा रास्वपाका वरिष्ठ नेता बोलन्द्र शाहले धरानको खानेपानीको समस्या आफूहरू सरकारमा गएपछि समाधान हुने बताएका थिए । उनले सप्तकोशीको पानी लिफ्टिङ गरेर धरान लैजाने र त्यसका लागि ५ अर्ब रुपैयाँ खर्च लाग्ने बताएका थिए । उनले भनेका थिए, ‘अहिलेको सरकारले गर्‍यो कि गरेन जनप्रतिनिधिको पहुँच पुग्यो कि पुगेन ?’ रास्वपाले हिजो सुनसरीको इटहरीमा कोशी प्रदेशस्तरीय आमसभा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्