Skip to content

भोजपुरमा व्यावसायिक कफीखेती विस्तार, किसानको आम्दानी बढ्दै

भोजपुर – केही समयअघिसम्म सामान्य रूपमा मात्र कफीका बोट देखिने भोजपुरमा अहिले व्यावसायिक कफीखेती तीव्र रूपमा विस्तार भइरहेको छ। बजारसम्मको सहज पहुँच स्थापित भएसँगै किसानहरू कफीखेतीतर्फ आकर्षित भएका हुन्। उत्पादन घरबाटै बिक्री हुन थालेपछि बजार खोज्ने झन्झट घटेको छ भने आम्दानीसमेत उल्लेख्य रूपमा बढेको छ। अहिले धेरै किसानका लागि कफी आयआर्जनको मुख्य स्रोत बनेको छ।

जिल्लाका हतुवागढी गाउँपालिका का सिन्द्राङ, होम्ताङ, लुङ्गिन र लुङ्थुङ, रामप्रसादराई गाउँपालिका का खोक्सिक, आमचोक गाउँपालिका, पौवादुङमा गाउँपालिका तथा षडानन्द नगरपालिका लगायतका क्षेत्रमा कफीखेती विस्तार हुँदै गएको छ। यी क्षेत्रको माटो, हावापानी र भौगोलिक बनावट कफी उत्पादनका लागि उपयुक्त मानिन्छ।

कफीखेती विस्तारका लागि सङ्घीय सरकारको विशेष अनुदान तथा किसानको लागत साझेदारीमा चालु आर्थिक वर्षमा करिब तीन करोड ३० लाख रुपैयाँ बराबरको कार्यक्रम सञ्चालन भइरहेको सुरेन्द्रकुमार उदासले जानकारी दिनुभयो। उहाँका अनुसार कफीका लागि उपयुक्त क्षेत्र पहिचान गरी योजनाबद्ध रूपमा खेती विस्तार गरिँदै आएको छ। नगरपालिकाका सबै १४ वटै वडामा कफी प्रवर्द्धन कार्यक्रम सञ्चालनमा छन्।

रामप्रसादराई गाउँपालिका–८ खोक्सिक मा किसानहरूले २२ रोपनी क्षेत्रफलमा सामूहिक कफीखेती सुरु गरेका छन्। मकै, आलुजस्ता परम्परागत बालीमा निर्भर किसान अहिले आयमूलक तथा निर्यातमुखी खेतीतर्फ उन्मुख भएका हुन्। स्थानीय कृषक मनोज राईका अनुसार खोक्सिकाको भूगोल कफीखेतीका लागि उपयुक्त भएकाले अन्य बालीको तुलनामा कफीबाट राम्रो आम्दानी लिन सकिन्छ।

यहाँ उत्पादन भएको कफी धरान, इटहरी, विराटनगर र काठमाडौँ हुँदै विदेशसम्म निर्यात हुने गरेको स्थानीय व्यवसायीहरू बताउँछन्। विशेषगरी अर्गानिक कफीको अन्तर्राष्ट्रिय बजारमा राम्रो माग रहेको छ।

पछिल्लो समय किसानहरू व्यावसायिक रूपमा जुटेसँगै उत्पादनसमेत बढ्दै गएको कफी बिक्रेता सुनील श्रेष्ठले जानकारी दिनुभयो। किसानका अनुसार राम्रोसँग फलेको एक बोटबाट २५ देखि ३० केजीसम्म उत्पादन लिन सकिन्छ। खेती विस्तारसँगै निर्यात मात्रा पनि वृद्धि हुँदै गएको छ।

कफीखेतीको विस्तारले किसानको आम्दानी बढाउनुका साथै जिल्लाको कृषि अर्थतन्त्रलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्