काठमाडौं – अर्जुननरसिंह केसी ले नेपाली कांग्रेसको संसदीय दलको नेतामा आफ्नो दाबी स्वाभाविक रहेको बताएका छन् । केन्द्रीय कार्यसमिति बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू सिनियर नेता भएकोले दलको नेताका लागि स्वतः दाबी हुने उल्लेख गरे । “म सबैभन्दा सिनियर पनि हुँ, संसदीय अभ्यास र यात्रामा मेरो ठूलो योगदान छ,” उनले भने, “२०४७ सालपछिको संसद्मा कांग्रेसलाई धान्नेहरूमध्ये म पनि हुँ ।”
उनले आफ्नो राजनीतिक योगदानलाई ओझेलमा पारेर आफूलाई केवल गगन थापा का ससुराको रूपमा प्रस्तुत गरिएकोप्रति असन्तुष्टि जनाए । “म गगन थापाको ससुरा भएर मात्र चिनिनु उचित होइन,” उनले भने, “मैले २०१८ सालदेखि संघर्ष सुरु गरेर करिब सात वर्ष जेल जीवन बिताएको छु। गगनजी आफ्नो क्षमता र व्यक्तित्वबाट उदाउनुभएको हो, मेरो पनि आफ्नै योगदान छ।”
त्यस्तै, उनले पार्टीभित्रको पछिल्लो परिस्थितिबारे टिप्पणी गर्दै सभापतिबाट गगन थापाले दिएको राजीनामालाई अनुचित कदम भएको बताए। उनका अनुसार केन्द्रीय कार्यसमितिका सबै सदस्य जिम्मेवार हुने भएकाले नेतृत्व परिवर्तन मात्र समाधान नभएको उनको धारणा छ । केसीले पार्टीभित्र एकताको आवश्यकता औंल्याउँदै आन्तरिक विवाद र आरोप–प्रत्यारोपबाट मुक्त भएर कांग्रेसलाई पुनः एकीकृत बनाउनुपर्ने बताए । सभापति थापाको राजीनामा अस्वीकृत गर्ने वा नगर्ने विषयमा केन्द्रीय कार्यसमितिको निर्णय पर्खिन उनले आग्रह गरेका छन् ।





प्रतिक्रिया दिनुहोस्