दार्चुला – दार्चुलाको लेकम गाउँपालिकाले पालिकास्तरीय परीक्षाको प्रश्नपत्रमा व्यापक त्रुटी देखिएपछि जिम्मेवार कर्मचारीमाथि कारबाही प्रक्रिया अघि बढाएको छ । चैत २ गतेदेखि सञ्चालन भइरहेको वार्षिक परीक्षा अन्तर्गत कक्षा ५ को विज्ञान तथा प्रविधि विषयको बिहीबारको प्रश्नपत्रमा गम्भीर त्रुटी देखिएको थियो। उक्त विषय सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा तीव्र आलोचना भएको थियो भने दोषीमाथि कारबाही गर्न माग उठेको थियो । घटनापछि प्रश्नपत्र टाइपिङमा संलग्न कर्मचारीहरूलाई जिम्मेवारीबाट हटाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपकराज जोशीले जानकारी दिए । यस्तै, त्रुटी भएको प्रश्नपत्रको प्रुफ रिडिङमा लापरवाही गरेको भन्दै सम्बन्धित विषयका शिक्षकसँग स्पष्टीकरण मागिएको छ। प्राविधिक रूपमा गलत छापिएका प्रश्नपत्रको भुक्तानी नगरिने निर्णय समेत गरिएको छ । साथै, समग्र प्रक्रियामा कमजोरी देखिएको भन्दै शिक्षा शाखा प्रमुखसँग पनि स्पष्टीकरण मागिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले आगामी दिनमा यस्ता त्रुटी दोहोरिन नदिन आवश्यक सुधारात्मक कदम चालिने जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्