काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सेवा प्रवाहको अवस्था, सेवाग्राहीको पहुँच तथा नागरिकता शाखासहित विभिन्न सेवा कक्षहरूको स्थलगत अनुगमन गरेका छन् ।
अनुगमनका क्रममा उनले सेवाग्राही प्रतीक्षा कक्ष, सहायता डेस्क र नागरिकता शाखाको निरीक्षण गर्दै सेवा लिन आउने नागरिकलाई छिटो, सहज र प्रभावकारी सेवा उपलब्ध गराउन कर्मचारीलाई निर्देशन दिएका छन्। उनले सेवाग्राहीसँग प्रत्यक्ष संवाद गर्दै सेवा प्रक्रियामा हुने ढिलाइ, झन्झट, लाइन व्यवस्थापन तथा कर्मचारीको व्यवहारबारे जानकारी समेत लिएका थिए । विशेषगरी दैनिक भीड हुने नागरिकता शाखा, प्रतीक्षालय र सहायता कक्षलाई थप व्यवस्थित, पारदर्शी र सेवामैत्री बनाउन आवश्यक रहेको उनले औँल्याएका छन् । साथै, कार्यालयमा जडान गरिएका सीसीटीभी तथा डिजिटल निगरानी प्रणालीमार्फत सेवा प्रवाह, भीड व्यवस्थापन र कर्मचारीको उपस्थितिलाई प्रभावकारी बनाउनेतर्फ पनि ध्यान दिन निर्देशन दिएका छन् । मुख्यमन्त्री बानियाँले सेवा प्रवाहमा हुने अनावश्यक ढिलाइ, कागजी झन्झट र बिचौलियाको सम्भावनालाई नियन्त्रण गर्नुपर्नेमा जोड दिँदै स्पष्ट सूचना प्रणाली, टोकन व्यवस्थापन र सहायता कक्षको प्रभावकारिता बढाउन आग्रह गरेका छन् ।
अनुगमनपछि उनले कार्यालयका जिम्मेवार अधिकारीहरूसँग छलफल गर्दै सेवा सुधार, डिजिटल प्रणालीको प्रयोग, गुनासो सुनुवाइ संयन्त्रको सक्रियता र सेवाग्राहीप्रति सम्मानजनक व्यवहार सुनिश्चित गर्न विशेष जोड दिएका छन् । उनले नागरिकको विश्वास बढाउन व्यवहारिक सुधार र उत्तरदायी प्रशासन आवश्यक रहेको उल्लेख गर्दै यस्ता अनुगमनलाई निरन्तरता दिने बताएका छन् ।





प्रतिक्रिया दिनुहोस्