Skip to content

विशेष महाधिवेशनको नेतृत्व नमान्दा निर्वाचन कसरी मान्ने ? : पौडेल

काठमाडौं — नेपाली कांग्रेस का महामन्त्री प्रदीप पौडेल ले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वमाथि प्रश्न उठाउँदा प्रतिनिधिसभा निर्वाचनमाथि पनि प्रश्न उठ्ने बताएका छन् । पार्टीको केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले विशेष महाधिवेशनबाट निर्वाचित समिति नै पन्ध्रौँ महाधिवेशनको तयारी समिति रहेको जिकिर गरे । उनले केही अग्रज नेताहरूले कार्यशैलीको विषयमा असन्तुष्टि राखेको स्वीकार गर्दै त्यसलाई सुधार गर्न आफूहरू तयार रहेको बताए। “कार्यशैलीका विषयमा रिजर्भेसन राख्नुभएको छ भने हामी त्यसलाई सच्याउन तयार छौं। कसैलाई अपमान गर्ने उद्देश्य होइन, पार्टीलाई व्यवस्थित र एकीकृत बनाउने हाम्रो लक्ष्य हो,” उनले भने । महामन्त्री पौडेलले प्रक्रिया जहाँ पुगेको छ, त्यहाँबाट फर्कनु उपयुक्त नहुने धारणा राखे। “प्रक्रियाबाट जहाँ पुगियो, त्यहाँबाट फर्कनु ठीक हुँदैन। सबै मिलेर अघि बढ्नुपर्छ। व्यवहारका कारण ठेस पुगेको छ भने त्यसलाई सुधार्नुको विकल्प छैन,” उनले भने ।

उनले पन्ध्रौँ महाधिवेशनको तयारीमा जुट्ने वातावरण बनाइरहेको जानकारी दिँदै विशेष महाधिवेशनमाथि प्रश्न उठाउँदा निर्वाचन प्रक्रियामाथि नै प्रश्न उठ्ने बताए । “विशेष महाधिवेशनको नेतृत्व नमान्ने हो भने निर्वाचनलाई कसरी मान्न सकिन्छ ? त्यसकारण अब सबै मिलेर अगाडि बढ्नुपर्छ,” उनले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्