काठमाडौँ – इरानसँग वार्ताका लागि इस्लामावाद पुगेको अमेरिकी प्रतिनिधिमण्डल स्वदेश फर्किएको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्स नेतृत्वको प्रतिनिधिमण्डल सम्झौताबेगर नै फर्किन लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अमरिकी अखबार द न्युयोर्क टाइम्सले उपराष्ट्रपति भान्स चढ्ने एयरफोर्स टु इस्लामावादबाट उडान भर्ने क्रममा रहेको जनाएको छ ।
इस्लामावाद छाड्नुअघि उनले होटल सेरेनामै पत्रकारहरूलाई संक्षिप्त ब्रिफिङ गर्दै वार्तामा कुनै सम्झौता नभएको बताएका थिए । उनले इरानीहरू अमेरिकी प्रस्ताव स्वीकार गर्न तयार नभएको बताए। यद्यपि कुन-कुन प्रस्ताव स्वीकार गर्न इरान तयार नभएको हो भन्ने चाहिँ उनले खुलाएनन् । शर्तहरूमा अमेरिका अहिलेसम्म लचिलो भएको उनको दाबी थियो । ‘हामीले आफ्ना ‘रेड लाइन’हरू स्पष्ट रूपमा राख्यौं, केमा लचिलो हुन सक्छौं र केमा सक्दैनौं भन्ने पनि भन्यौं, तर उनीहरूले ती सर्त स्वीकार गरेनन्,’ भान्सले भने । यद्यपि वार्तालाई पूर्ण रूपमा असफल भएको भएको घोषणा भने उनले गरेनन्। ‘हामी यहाँबाट एकदमै स्पष्ट प्रस्ताव छाडेर जाँदै छं। यो हाम्रो अन्तिम र सबैभन्दा राम्रो प्रस्ताव हो, अब इरानले स्वीकार गर्छ कि गर्दैन हेर्नेछौं,’ उनले भने ।
उनले वार्ताका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कैयौंपटक फोनमा कुराकानी गरेका थिए । वार्तामा अमेरिकी विशेष दूत स्टिभ विटकफ र ट्रम्पका ज्वाइँ ज्यारेड कुश्नर सहभागी थिए। इरानी पक्षबाट सभामुख मोहम्मद बाघेर गालीबाफ र विदेशमन्त्री अब्बास अरागची सहभागी भएका थिए ।




प्रतिक्रिया दिनुहोस्