Skip to content

सशस्त्र प्रहरीमा नेतृत्व परिवर्तनको घडी: एआईजी पौडेल स्वाभाविक उत्तराधिकारी

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालमा अब नेतृत्व परिवर्तनको घडी नजिकिएको छ। वर्तमान महानिरीक्षक राजु अर्याल आफ्नो चार वर्षे कार्यकाल सफलतापूर्वक पूरा गर्दै अब दुई सातापछि अवकाशमा जाँदै छन्। उनको बहिर्गमनसँगै संगठनको नेतृत्व कसले सम्हाल्छ भन्ने चासो बढिरहेका बेला एआईजी नारायणदत्त पौडेल सबैभन्दा उपयुक्त र स्वाभाविक उत्तराधिकारीका रूपमा अघि आएका छन्।

अर्यालको चार वर्षे कार्यकाललाई संगठनभित्र स्थायित्व, अनुशासन र संस्थागत एकताको कालखण्डका रूपमा हेरिएको छ। नेतृत्व सम्हालेको सुरुदेखि नै उनले संगठनलाई गुटगत प्रभावभन्दा माथि उठाएर कमान्ड संरचनालाई बलियो बनाउने प्रयास गरे। यही अवधिमा संगठनभित्र अपेक्षित एकता कायम हुनु उनको कार्यकालको प्रमुख उपलब्धि मानिएको छ।

विशेष गरी नेतृत्व तहमा देखिन सक्ने प्रतिस्पर्धा र आन्तरिक असन्तुष्टिलाई व्यवस्थापन गर्ने विषयमा अर्याल सफल देखिए। सुरक्षा वृत्तका अनुसार, यो सफलतामा दोस्रो वरीयतामा रहेका एआईजी नारायणदत्त पौडेलको संयमित र संस्थामुखी भूमिकाले ठूलो योगदान पुर्‍याएको छ।

पौडेलले चार वर्षसम्म संगठनभित्र सहकार्य, समन्वय र संस्थागत अनुशासनलाई प्राथमिकता दिए। उनी अन्य केही अधिकारीजस्तो नेतृत्व परिवर्तनका लागि भित्री चलखेलमा नलागी संगठनको एकतालाई नै पहिलो प्राथमिकतामा राख्ने अधिकारीका रूपमा चिनिन्छन्। यही कारण अहिले नेतृत्व हस्तान्तरणको चरणमा उनी सबैभन्दा उपयुक्त पात्रका रूपमा देखिएका छन्।

सशस्त्र प्रहरी बलजस्तो संवेदनशील सुरक्षा निकायमा नेतृत्व केवल ज्येष्ठताले मात्र होइन, संस्थाप्रतिको प्रतिबद्धता, प्रशासनिक दक्षता र संकट व्यवस्थापन क्षमताले पनि तय हुन्छ। यही मापदण्डमा पौडेल बलिया देखिन्छन्।

मानवस्रोत व्यवस्थापन, संगठन सञ्चालन र कमान्ड तहमा लामो अनुभव भएका पौडेलले आफ्नो कार्यशैलीबाट संगठनभित्र विश्वास निर्माण गरेका छन्। उनी शान्त, सन्तुलित र निर्णय क्षमतामा परिपक्व अधिकारीका रूपमा परिचित छन्। यही कारण संगठनभित्र पनि उनको नेतृत्वलाई सहज रूपमा स्वीकार गर्ने वातावरण बनेको देखिन्छ।

सुरक्षा विश्लेषकहरूका अनुसार, अहिले सशस्त्र प्रहरी बललाई निरन्तरता र स्थायित्व चाहिएको छ। अर्यालले चार वर्षमा निर्माण गरेको संस्थागत सन्तुलनलाई जोगाउँदै थप मजबुत बनाउने जिम्मेवारी अब नयाँ नेतृत्वको काँधमा जानेछ। यस्तो अवस्थामा नारायणदत्त पौडेलजस्तो अनुभवी र संस्थामुखी अधिकारी नेतृत्वमा पुग्नु संगठनका लागि सकारात्मक संकेत हुने बुझाइ छ।

विगतमा उच्च पदमा पुग्ने प्रतिस्पर्धाले संगठनभित्र अनावश्यक तनाव सिर्जना गर्ने गरेको उदाहरणहरू छन्। तर यसपटक पौडेलले देखाएको संयम र सहकार्यको भूमिकाले उनी केवल वरीयताका आधारमा मात्र होइन, व्यवहारिक रूपमा पनि आईजीका लागि सबैभन्दा योग्य पात्र भएको सन्देश दिएको छ।

राजु अर्यालको अवकाशसँगै सशस्त्र प्रहरी बल नयाँ नेतृत्वको चरणमा प्रवेश गर्दैछ। यस्तो संवेदनशील मोडमा संगठनलाई एकताबद्ध, अनुशासित र प्रभावकारी ढंगले अगाडि बढाउन सक्ने क्षमता भएका अधिकारीमध्ये नारायणदत्त पौडेल अग्रपंक्तिमा छन्।

अब सरकारको औपचारिक निर्णय मात्र बाँकी रहेको अवस्थामा सुरक्षा वृत्तमा एउटा स्पष्ट धारणा बनेको छ— सशस्त्र प्रहरी बलको आगामी नेतृत्वका लागि नारायणदत्त पौडेल नै सबैभन्दा उपयुक्त, स्वाभाविक र सक्षम पात्र हुन्।

प्रतिक्रिया दिनुहोस्