Skip to content

नेपाली कांग्रेसमा नयाँ समीकरणको संकेत, खड्काले डाके आफू पक्षधर केन्द्रीय सदस्य

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले डाकेको चौधौँ महाधिवेशन (चौम) बाट निर्वाचित आफू पक्षधर केन्द्रीय सदस्यहरूको बैठक आज बस्दैछ । धुम्बाराहीस्थित स्मार्ट होटलमा जारी बैठकमा नेताहरू पुग्ने क्रम जारी रहेको छ। पार्टीको आधिकारिकताका विषयमा सर्वोच्च अदालतको फैसला आएपछि चौम समूह आन्तरिक छलफलमा जुटेको हो। बैठकमा विशेषगरी १५औँ महाधिवेशनको रणनीति, आगामी नेतृत्व र संगठनात्मक कदमबारे छलफल हुने बताइएको छ ।

सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई मान्यता दिएपछि असन्तुष्ट रहेका पूर्वसभापति शेरबहादुर देउवा पक्षका नेता खड्काले शनिबार आफ्नै निवासमा आफू निकटका नेताहरूसँग प्रारम्भिक परामर्श गरेका थिए । उक्त छलफलमा विमलेन्द्र निधि, शशांक कोइराला, कृष्ण सिटौला, प्रकाशमान सिंह, प्रकाशशरण महत, एनपी साउद, मीन विश्वकर्मा र रमेश लेखकलगायत नेताहरू सहभागी भएका थिए । सोही छलफलपछि निकटका केन्द्रीय सदस्यहरूको बैठक आजका लागि बोलाइएको हो । बैठकलाई १५औँ महाधिवेशनको शक्ति सन्तुलन र कांग्रेसभित्रको आगामी राजनीतिक समीकरणसँग जोडेर हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्