काठमाडौँ – श्रम संस्कृति पार्टीका प्रमुख तथा सुनसरी क्षेत्र नम्बर १ का सांसद हर्क साम्पाङले सरकारले दलीय विद्यार्थी संगठनलाई विश्वविद्यालयमा निषेध गरेको विपक्षमा बोलेका छन् । मंगलबार पत्रकारहरुसँग कुराकानी गर्दै साम्पाङले आफ्नो दलको विद्यार्थी संगठन नभएको भएता पनि अहिले बन्दको पक्षमा नभएको बताए ।
उनले भने, ‘बुद्धिमताकासाथ ह्यान्डल गनुपर्छ । केही लिमिटेसन राखेर गर्नुपर्छ । श्रम संस्कृतिको विद्यार्थी संगठन छैन । बनाउने विचार गरेको छैन । क्याम्पसलाई टेबल ठटाउने पक्षमा हामी जाँदैनौँ ।’ नियम बनाएमा निषेध आवश्यक नभएको भन्दै साम्पाङले भने, ‘हामी सबै भात खाने मान्छे नै हौँ । विद्यार्थी शिक्षित जमात हो ।’ विद्यार्थी आन्दोलनले गठित सरकार भएको भन्दै निषेधको कुरामा हर्कले फरक मत राखेका हुन् । केही दिनबाट सामाजिक सञ्जाल फेसबुकको पेज उडेपछि हर्क साम्पाङको विचार कम मुखर भइरहेको बेलामा उनको पत्रकार सम्मेलन भएको हो । फरक प्रसंगमा साम्पाङले नेपाल आन्दोलन नै आन्दोलनको देश भएको भन्दै भने, ‘सांसदले चाहिँ आन्दोलन गर्नु नपरोस् ।’




प्रतिक्रिया दिनुहोस्