काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारको नेतृत्व गरेको पार्टी चुनावमा नराम्रोसँग सडकमा पछारिएको विषयमा गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन् । पार्टी स्थापना दिवसको अवसरमा शुभकामना दिँदै निर्वाचनमा नेपाली मतदाताको अत्यधिक ठुलो हिस्साले पार्टीलाई अस्वीकार गरेको बताएका छन् । उनले भनेका छन्, ‘हामीले कुनै द्विविधा राख्नु हुँदैन, हिजोको सफलतामा हाम्रो योगदान र योग्यताको निर्णायक भूमिका थियो र आजको असफलता र पराजयमा पनि हाम्रै गल्ती, कमजोरी र अयोग्यताको निर्णायक भूमिका छ ।’
नीति, नेतृत्व, सङ्गठन र कार्यशैलीमा रहेका गल्ती, कमजोरीहरूलाई स्वीकार गर्न र सच्याउनुपर्ने बताएका छन् । उनले थपेका छन्, ‘हामीले सफलता र उपलब्धिको जस लिएजसरी नै पराजय र क्षतिको पनि जिम्मेवारी लिन जरुरी छ । समयको निर्देश अनुरूप समग्र पार्टीलाई पुनर्गठन गर्न र नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ ढङ्गले अगाडी बढाउन जरुरी छ ।
उनको भनाइ जस्ताको तस्तै-
पार्टी स्थापनाको नेतृत्व गर्ने कमरेडहरू पुष्पलाल, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी र मोती देवीप्रति श्रद्धा र सम्मान गर्ने दिन । जनताको बहुदलीय जनवाद जस्तो युग सुहाउँदो, गतिशील र लोकतान्त्रिक सिद्धान्त प्रतिपादन गर्ने जननेता मदन भण्डारीबाट प्रेरणा लिने दिन ।
कम्युनिस्ट आन्दोलनका सम्पूर्ण शहीदहरू र मनमोहन अधिकारी लगायत सम्पूर्ण अग्रजहरूलाई आदरपूर्वक स्मरण गर्ने दिन । नेपाली कम्युनिस्ट आन्दोलनका उपलब्धि र कमजोरीहरूको समीक्षा गर्न,तीनबाट शिक्षा लिन र अगाडी बढ्न सङ्कल्प गर्ने दिन ।
नेपाल कम्युनिस्ट पार्टीको स्थापना सबै प्रकारका निरङ्कुश शासनको अन्त्य, लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना र समृद्धि, सामाजिक न्याय र समाजवादको उद्देश्य प्राप्तिका लागि भएको थियो ।
पार्टी स्थापना देखि आजसम्म आइपुग्दा नेपाली कम्युनिस्ट आन्दोलनले असाधारण उपलब्धि हासिल गरेको छ र कहालीलाग्दो क्षति पनि बेहोरेको छ । संविधान सभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आधारित संविधान घोषणा भएपश्चातको दशक कम्युनिस्ट पार्टीले झन्डै दुई तिहाइको सरकार गठन गर्न सफल भएको दशक र नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास कै सबैभन्दा ठुलो असफलता र पराजयको दशक बन्न पुगेको छ ।
सरकारको नेतृत्व गरेको हाम्रो पार्टी २०८२ भदौ २४ सम्म आइपुग्दा नराम्रोसँग सडकमा पछारिएको छ । फागुन २१ गते सम्पन्न निर्वाचनमा नेपाली मतदाताको अत्यधिक ठुलो हिस्साले हाम्रो पार्टीलाई अस्वीकार गरेका छन् । हामी प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको १६५ मध्ये ९ स्थान र समानुपातिक समेत कूल २७५ मध्ये २५ स्थानमा खुम्चिन बाध्य भएका छौँ ।
हामीले कुनै द्विविधा राख्नु हुँदैन, हिजोको सफलतामा हाम्रो योगदान र योग्यताको निर्णायक भूमिका थियो र आजको असफलता र पराजयमा पनि हाम्रै गल्ती, कमजोरी र अयोग्यताको निर्णायक भूमिका छ ।
अब हामीले अविलम्ब समग्र नेपाली कम्युनिस्ट आन्दोलनको, विशेष गरी विगतको एक दशकको र पछिल्लो पटक सरकारको नेतृत्व गर्दा देखि आम निर्वाचन सम्पन्न हुँदा सम्मको वस्तुनिष्ठ र यथार्थपरक समीक्षा गर्न जरुरी छ । नीति, नेतृत्व, सङ्गठन र कार्यशैलीमा रहेका हाम्रा गल्ती, कमजोरीहरूलाई उद्घाटित गर्न, स्वीकार गर्न र सच्याउन जरुरी छ ।
हामीले सफलता र उपलब्धिको जस लिएजसरी नै पराजय र क्षतिको पनि जिम्मेवारी लिन जरुरी छ । समयको निर्देश अनुरूप समग्र पार्टीलाई पुनर्गठन गर्न र नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ ढङ्गले अगाडी बढाउन जरुरी छ । पार्टी स्थापनाको यस् ऐतिहासिक दिनमा नेकपा ९एमाले० लाई लोकप्रिय, गतिशील र राष्ट्रलाई नेतृत्व गर्ने निर्णायक शक्तिमा बदल्ने सङ्कल्प गरौँ ।




प्रतिक्रिया दिनुहोस्