काठमाडौँ – दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा संयुक्त अरब इमिरेट्स (यूएई)लाई ३७ रनले पराजित गरेकाे छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जितका लागि नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको यूएई ४८ ओभर २ बलमा १६३ रनमा समेटियो । यूएईका लागि हर्पित सिंह भाटियाले सर्वाधिक ३९ रन बनाए । उनले ५२ बलमा ५ चाैका प्रहार गरे । कप्तान मोहम्मद वासिमले ५१ बलमा ३४ बनाउँदा अक्षदीप नाथ ३० मा आउट भए ।
यस्तै, आर्यन्स शर्मा र निलांश केश्वानी समान १८–१८ रन बनाए । अन्य ब्याटर दाेहाेराे अंकमा रन बनाउन सकेनन् । बलिङमा नेपालका करण केसी एक्लैले ४ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले समान २–२ विकेट हात पारे । दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीकाे नाममा एक-एक विकेट रह्याे । त्यसअघि त्रिवि क्रिकेट मैदानमा यूएईले टस जितेर फिल्डिङ राेजेपछि ब्याटिङकाे निम्ताे पाएकाे नेपालले ४८ ओभर २ बलमा २०० रन बनाएकाे थियाे । उपकप्तान दीपेन्द्रसिंह ऐरीको ७५ रनकाे याेगदानमा नेपाल यो स्थितिमा पुगेको हो । दीपेन्द्रले ९० बलमा ५ चौका र २ छक्का प्रहार गरे । ओपनर कुशल भुर्तेल २४, आसिफ शेख ७, भीम सार्की १०, कप्तान रोहित पौडेल २, बसिर अहमद २०, आरिफ शेख १५, सोमपाल कामी १५ र करण केसी २२ रनमा आउट भए । ललित राजवंशी शून्यमा अविजित रहे ।
बलिङमा यूएईका जुनाइद सिद्धिकी र अजय कुमारले ३–३ विकेट लिए । खुजाइमा तनभीरले दुई तथा हैदर अली र मोहम्मद शाहदादले एक-एक विकेट हात पारे । अब नेपालले आफ्नाे दाेस्राे खेलमा बुधबार ओमनसँग प्रतिस्पर्धा गर्नेछ । सन् २०२७ को एकदिवसीय विश्वकपको छनोटको आधार रहेको ८ राष्ट्र समावेश लिग २ को अंकतालिकामा नेपाल र यूएई पुछारको दुई स्थानमा छन् ।





प्रतिक्रिया दिनुहोस्