जापानमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गर्दै नियम–कानुन, भिसा, कर, बिमा तथा पेन्सन सम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यसहित सञ्चालन गरिएको निःशुल्क परामर्श कार्यक्रम ‘हाम्रा कुरा’ दोस्रो संस्करण नागोयामा भव्य रूपमा सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान, क्षेत्रीय समिति नागोयाको आयोजनामा नागोया कोकुसाइ सेन्टरमा सम्पन्न कार्यक्रममा जापानमा रहेका नेपालीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा जापानको भिसा तथा अध्यागमन सम्बन्धी विषयमा अनुभवी प्रशासनिक कानुनी परामर्शदाता हिबी यासुमोतोले स्थायी बसोबास भिसा, गिजिन्कोकू भिसा, तोकूतेई गिनोउ भिसा तथा व्यवसाय व्यवस्थापन भिसालगायत विभिन्न प्रक्रियाबारे विस्तृत जानकारी दिनुभएको थियो । उहाँले सहभागीहरूलाई भिसा प्रक्रिया, आवश्यक कानुनी व्यवस्था र आवेदन सम्बन्धी व्यवहारिक पक्षबारे स्पष्ट रूपमा जानकारी गराउनुभएको थियो । त्यसैगरी, जापानका सरकारी वडा कार्यालयमा लामो समयदेखि कार्यरत मनोज ढुंगानाले भाषा सहजीकरणसँगै कर, बिमा तथा पेन्सन सम्बन्धी व्यवहारिक जानकारी प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा सहभागीहरूले आफूलाई अन्योल भएका विषयमा प्रत्यक्ष प्रश्न राख्ने तथा अन्तरक्रिया गर्ने अवसर समेत पाएका थिए । कार्यक्रम एनआरएनए क्षेत्रीय समिति नागोयाका अध्यक्ष योमन देवानको अध्यक्षता तथा चन्द्रप्रकाश भूसालको संयोजकत्वमा सम्पन्न भएको थियो भने सचिव सागर थापा बगालेले सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा एनआरएनए अभियन्ता तथा समाजसेवी दीपक कार्की, एनआरएनए जापानका महासचिव श्याम शीतल, समाजसेवी डिलाराम खरेल लगायत नागोयामा बसोबास गर्ने विभिन्न नेपाली समाजसेवी, व्यवसायी तथा पेशाकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूको उत्साहजनक उपस्थितिका बीच सम्पन्न उक्त कार्यक्रम नेपाली समुदायका लागि उपयोगी, जानकारीमूलक तथा प्रभावकारी बनेको आयोजकले जनाएको छ। आगामी दिनमा समेत यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको आयोजकको भनाइ छ।





प्रतिक्रिया दिनुहोस्