Skip to content

आरसिबी लगातार दोस्रो पटक आईपीएल फाइनलमा, गुजरात ९२ रनले पराजित

काठमाडौँ – रोयल च्यालेन्जर्स बैंगलोर (आरसिबी) लगातार दोस्रो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा पुगेको छ । क्वालिफायर–१ मा आरसिबीले गुजरात टाइटन्सलाई ९२ रनले हराउँदै उपाधि रक्षा अभियानलाई थप बलियो बनाएको हो । पहिले ब्याटिङ गरेको आरसिबीले कप्तान रजत पाटीदारको विस्फोटक अर्धशतकको मद्दतमा २० ओभरमा पाँच विकेट गुमाएर २५४ रनको विशाल योगफल तयार गरेको थियो । जवाफमा गुजरात १९ दशमलव ३ ओभरमै १६२ रनमा समेटियो । आरसिबी अब पाँचौँ पटक आईपीएल फाइनलमा पुगेको छ । यसअघि टोली २००९, २०११, २०१६ र २०२५ मा फाइनल पुगेको थियो । गत सिजन उपाधि जितेको आरसिबी लगातार दोस्रो ट्रफी जित्ने लक्ष्यमा रहेको छ । लक्ष्य पछ्याउने क्रममा गुजरातको सुरुआत निकै खराब रह्यो । टोलीले पावरप्लेभित्रै पाँच विकेट गुमायो । साई सुदर्शन हिट विकेट हुँदै आउट भए भने कप्तान शुभमन गिल र जोस बटलर पनि सस्तोमै पभेलियन फर्किए । त्यसपछि गुजरातको ब्याटिङ लयमा आउन सकेन ।

इम्प्याक्ट खेलाडीका रूपमा मैदान उत्रिएका राहुल तेवतियाले संघर्षपूर्ण अर्धशतक बनाए । उनले ४३ बलमा ६८ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । गुजरातका आठ ब्याटर दोहोरो अंकमा समेत पुग्न सकेनन् । आरसिबीका लागि ज्याकब डफीले तीन विकेट लिए । भुवनेश्वर कुमार, रासिख सलाम डार र क्रुणाल पाण्ड्याले समान दुई–दुई विकेट हात पारे भने जोस हेजलउडले एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङमा उत्रिएको आरसिबीका लागि विराट कोहली र भेङ्कटेश अय्यरले आक्रामक सुरुआत दिलाएका थिए । पावरप्लेमा टोलीले एक विकेटको क्षतिमा ७६ रन जोड्दै प्लेअफ इतिहासकै चौथो उच्च पावरप्ले स्कोर बनायो ।

विराट कोहलीले संयमित खेल प्रदर्शन गर्दै ४३ रन बनाए भने देवदत्त पडिक्कलले ३० रनको योगदान दिए । खेलको वास्तविक मोड १४औँ ओभरपछि आयो, जब रजत पाटीदारले जीवनदान पाएपछि आक्रामक ब्याटिङ सुरु गरे । कागिसो रबाडा र राशिद खानजस्ता अनुभवी बलरसमेत दबाबमा परे । पाटीदार र क्रुणाल पाण्ड्याबीच चौथो विकेटका लागि ९५ रनको विस्फोटक साझेदारी भयो । आरसिबीले अन्तिम छ ओभरमा ११४ रन जोड्दै प्लेअफ इतिहासकै एक विशाल स्कोर खडा गर्‍यो । पाटीदारले कप्तानी इनिङ्स खेल्दै अर्धशतक पूरा गरे भने क्रुणालले ४३ रनको महत्वपूर्ण योगदान दिए । अब गुजरातसँग फाइनल पुग्ने अर्को अवसर बाँकी छ । टोलीले आज हुने सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सबीचको इलिमिनेटर विजेतासँग क्वालिफायर–२ मा प्रतिस्पर्धा गर्नेछ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्