Skip to content

अमेरिकाद्वारा इरानमा फेरि हवाई हमला, युद्ध अन्त्य वार्ताबीच तनाव थप चर्कियो

काठमाडौं – अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि अप्रत्यक्ष वार्ता चलिरहेका बेला अमेरिकाले दक्षिणी इरानमा फेरि हवाई आक्रमण गरेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार अमेरिकी सेनाले हर्मुज जलडमरूमध्य नजिक इरानी सैन्य संरचनालाई निशाना बनाएर रातारात हमला गरेको हो । अमेरिकी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार इरानबाट उडाइएका अमेरिकी फौज र व्यावसायिक जल यातायातलाई लक्षित ‘वन–वे अट्याक ड्रोन’ खसालिएपछि बन्दर अब्बासस्थित ड्रोन नियन्त्रण केन्द्रमा हवाई हमला गरिएको थियो। उक्त क्षेत्र इरानको सबैभन्दा महत्वपूर्ण बन्दरगाह मानिन्छ ।

अमेरिकी सेनाले चारवटा आक्रमणकारी ड्रोन खसालेको दाबी गरेको छ। पाँचौँ ड्रोन उडाउनुअघि नै दक्षिणी इरानको बन्दर अब्बास क्षेत्रमा आक्रमण गरिएको बताइएको छ । द न्युयोर्क टाइम्सका अनुसार बिहीबार बिहान बन्दर अब्बास आसपास विस्फोटको आवाज सुनिएको इरानी सरकारी सञ्चारमाध्यमहरूले पनि पुष्टि गरेका छन्। इरानी पक्षले शहरको पूर्वी क्षेत्रमा तीनवटा विस्फोट भएको र वायु प्रतिरक्षा प्रणाली सक्रिय पारिएको जनाएको छ । यो तीन दिनभित्र अमेरिकाले गरेको दोस्रो सैन्य कारबाही हो । यसअघि सोमबार पनि अमेरिकाले हर्मुज क्षेत्रमा बारुदी सुरुङ बिछ्याउन खोजेका डुंगा र मिसाइल प्रक्षेपणस्थलमाथि ‘रक्षात्मक कारबाही’ गरेको जनाएको थियो। तर इरानले त्यसलाई कमजोर युद्धविरामको गम्भीर उल्लंघन भनेको थियो ।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि संयुक्त आक्रमण सुरु गरेपछि दुई देशबीचको युद्ध चर्किएको थियो। युद्धका कारण हजारौँ मानिस मारिएको तथा विश्वव्यापी ऊर्जा बजारमा ठूलो असर परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । युद्ध अन्त्यका लागि हाल कतारमार्फत अमेरिका र इरानबीच अप्रत्यक्ष वार्ता भइरहेको छ। इरानले करिब २४ अर्ब अमेरिकी डलर बराबरको रोक्का सम्पत्ति फुकुवा गर्नुपर्ने माग अघि सारेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अधिकांश विषयमा सहमति भइसकेको र अब अन्तिम रूप दिन मात्र बाँकी रहेको बताएका छन् । अमेरिकी अनलाइन एक्सियसका अनुसार दुवै पक्षबीच ६० दिनका लागि समझदारी पत्रमा हस्ताक्षर गर्ने तयारी भइरहेको छ। प्रारम्भिक सहमतिअनुसार स्ट्रेट अफ हर्मुज बिना शुल्क खुला राखिनेछ भने इरानले समुद्री बम हटाउनेछ। त्यसको बदलामा अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाउने र केही आर्थिक प्रतिबन्ध खुकुलो पार्नेछ  । समझदारी पत्रमा इरानले आणविक हतियार नबनाउने, युरेनियम प्रशोधन कार्यक्रम स्थगित गर्ने तथा उच्च प्रशोधित युरेनियमको भण्डार हटाउने विषयमा पनि प्रतिबद्धता जनाउने उल्लेख छ । यसैबीच, अमेरिकाले इरानमा आक्रमण गरेपछि इजरायलले लेबननमा हिजबुल्लाहविरुद्ध सैन्य कारबाही थप तीव्र बनाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्