Skip to content

पहिलोपटक खुला प्रतिस्पर्धाबाट राजदूत छनोट प्रक्रिया सुरु

काठमाडौं – सरकारले पहिलोपटक खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार सूचना जारी गर्दै इच्छुक नेपाली नागरिकलाई आउँदो जुन ५ भित्र आवेदन दिन आग्रह गरेको हो । मन्त्रालयले राजदूत नियुक्तिसम्बन्धी योग्यता, सर्त र कार्यक्षेत्रसमेत समेटिएको निर्देशिका सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्बाट स्वीकृत ‘राजदूत नियुक्ति सम्बन्धी निर्देशिका, २०७५’ (संशोधन २०७८ र २०७९) बमोजिम आवेदन आह्वान गरिएको मन्त्रालयले जनाएको छ । निर्देशिकाअनुसार राजदूत बन्न इच्छुक व्यक्तिले कम्तीमा ३५ वर्ष उमेर पूरा गरेको नेपाली नागरिक हुनुपर्नेछ । साथै नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था गरिएको छ । स्नातकोत्तर तहको शैक्षिक योग्यता, कूटनीतिक अनुभव तथा नेतृत्वदायी भूमिकालाई अतिरिक्त योग्यताका रूपमा हेरिने मन्त्रालयले जनाएको छ । त्यस्तै, भ्रष्टाचार वा नैतिक पतन देखिने फौजदारी कसुरमा अदालतबाट सजाय नपाएको, सरकारी सेवाबाट अयोग्य ठहरिने गरी बर्खास्त नभएको तथा कुनै विदेशी राष्ट्रको पीआर वा ग्रीनकार्ड नलिएको हुनुपर्ने सर्त राखिएको छ ।

उम्मेदवारसँग नेपालको परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध वा कूटनीतिक क्षेत्रमा अनुभव तथा अंग्रेजी भाषामा राम्रो दख्खल हुनुपर्नेछ । प्रस्तावित मुलुकमा स्वार्थ नबाझिएको तथा अन्तर्राष्ट्रिय वा विदेशी सहायताबाट सञ्चालित गैरसरकारी संस्थामा हाल कार्यरत नरहेको हुनुपर्ने व्यवस्था पनि गरिएको छ । यसअघि विदेशी राष्ट्रको तलब खाने पदमा कार्यरत भएको भए उक्त पद छाडेको कम्तीमा १० वर्ष पूरा भएको हुनुपर्नेछ । साथै अन्तर्राष्ट्रिय सम्बन्ध, राजनीति शास्त्र, कानुन, अर्थशास्त्र वा जनप्रशासनमा स्नातकोत्तर गरेका, उच्च सरकारी वा कर्पोरेट तहमा नेतृत्व अनुभव भएका तथा सम्बन्धित देशको भाषा जान्ने उम्मेदवारलाई प्राथमिकता दिइने मन्त्रालयले उल्लेख गरेको छ । इच्छुक उम्मेदवारले परराष्ट्र मन्त्रालयको वेबसाइट वा मन्त्रालयमा उपलब्ध तोकिएको फाराम भरेर आवश्यक विवरणसहित मन्त्रीको सचिवालयमा बुझाउन वा अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । मन्त्रालयले प्राप्त आवेदनमध्येबाट प्रारम्भिक छनोट गरी मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ । त्यसपछि मन्त्रिपरिषद्को निर्णयअनुसार संसदीय सुनुवाइ समितिबाट अनुमोदन र सम्बन्धित देशको सहमतिपछि राष्ट्रपतिबाट औपचारिक नियुक्ति हुने व्यवस्था रहेको छ ।

राजदूत नियुक्तिपछि सम्बन्धित व्यक्तिले परराष्ट्र मन्त्रालयसँग कार्यसम्पादन सम्झौता गरेर कार्यक्षेत्रमा खटिनुपर्ने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्