काठमाडौँ – इरान र अमेरिका बीचको तनाव फेरि तीव्र बनेको छ। स्ट्रेट अफ होर्मुज नजिक अमेरिकी सेनाको अपाचे हेलिकोप्टर खसेको घटनापछि अमेरिकाले इरानको केशम टापु क्षेत्रमा सैन्य कारबाही गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकी एएच–६४ अपाचे हेलिकोप्टर खसालेको दाबी गर्दै यसको जवाफ दिने चेतावनी दिएका थिए। अमेरिकी पक्षका अनुसार हेलिकोप्टरमा रहेका दुई सैनिकलाई उद्धार गरिएको छ र उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार अमेरिकी आक्रमणपछि केशम टापु क्षेत्रमा विस्फोटको आवाज सुनिएको थियो। प्रारम्भिक विवरणअनुसार आक्रमण राजधानी तेहरानमा नभई होर्मुज आसपासका रणनीतिक क्षेत्रमा केन्द्रित भएको बताइएको छ ।
घटनापछि इरानका विदेशमन्त्री अब्बास अराघचीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै आवश्यक परे कडा जवाफ दिने चेतावनी दिएका छन् । यो घटनाले पछिल्ला महिनादेखि कायम रहेको युद्धविराममाथि थप दबाब सिर्जना गरेको छ । होर्मुज क्षेत्र विश्व व्यापार र ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण समुद्री मार्ग मानिन्छ, त्यसैले तनाव बढेमा यसको प्रभाव क्षेत्रीय सुरक्षा मात्र होइन विश्व अर्थतन्त्रमा समेत पर्न सक्ने विश्लेषण गरिएको छ ।




प्रतिक्रिया दिनुहोस्