Skip to content

अमेरिका र इरानबिच युद्ध अन्त्य गर्ने प्रारम्भिक सहमति: स्ट्रेट अफ होर्मुज खुल्ने, विश्वबजारमा कच्चा तेलको मूल्य घट्यो

काठमाडौँ – अमेरिका र इरानबिच चलिरहेको युद्ध अन्त्य गर्न दुवै देशका अधिकारीहरू एउटा प्रारम्भिक सहमतिमा पुगेका छन् । आइतबार भएको यस सहमतिअनुसार अमेरिकाले इरानमाथि लगाएको नाकाबन्दी हटाउने र विश्वव्यापी तेल तथा ग्यास आपूर्तिको प्रमुख समुद्री मार्ग ‘स्ट्रेट अफ होर्मुज’ पुनः खुला गरिने भएको छ । यस प्रारम्भिक सम्झौताको खबरसँगै विश्वबजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ । सोमबारको सुरुवाती कारोबारमा ब्रेन्ट क्रुड फ्युचर्स ४ प्रतिशत र अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियट (WTI) ४.६ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ भने एसियाली सेयर बजारमा उछाल आएको छ ।

ट्रम्प र सरिफद्वारा सम्झौताको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार साँझ आफ्नो सोसल मिडिया प्लेटफर्म ‘ट्रुथ सोसल’मा लेखेका छन्, “इस्लामिक गणतन्त्र इरानसँगको सम्झौता अब पूरा भएको छ।” ट्रम्पको यो भनाइ आउनुअघि वार्तामा मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले सोमबार बिहानै सम्झौताको घोषणा गरेका थिए। यो समझदारी पत्रमा आगामी शुक्रबार स्विट्जरल्यान्डमा औपचारिक रूपमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ ।

लेबनानसहित सबै मोर्चामा सैन्य कारबाही रोकिने

सम्झौताका विस्तृत सर्तहरू तत्काल सार्वजनिक नगरिए पनि पाकिस्तानी प्रधानमन्त्री सरिफका अनुसार यसले लेबनानसहित सबै मोर्चाहरूमा भइरहेका सैन्य कारबाहीहरूलाई तत्काल र स्थायी रूपमा बन्द गर्न आह्वान गरेको छ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयले पनि सोमबार रातिदेखि युद्ध र सैन्य कारबाही स्थायी रूपमा अन्त्य हुने विज्ञप्ति मार्फत जनाएको छ । पछिल्ला हप्ताहरूमा इजरायल र हिज्बुल्लाहबिच जारी आक्रमणका कारण लेबनान वार्ताको जटिल बिन्दु बनेको थियो। अमेरिका-इरान वार्तामा आफू संलग्न नरहेको बताउँदै आएको इजरायलले भने यस घोषणाप्रति तत्काल कुनै प्रतिक्रिया जनाएको छैन ।

परमाणु कार्यक्रमको भविष्य र कंग्रेसको भूमिका

इरानको परमाणु कार्यक्रमको भविष्य भने आगामी वार्ताहरूबाट मात्रै टुङ्गो लाग्नेछ । इरानका उपविदेशमन्त्री काजेम गरिबाबाडीका अनुसार ६० दिने युद्धविरामको अवधिमा प्रतिबन्ध फुकुवा गर्नेलगायतका थप विस्तृत सम्झौतामा वार्ता हुनेछ र सोही क्रममा परमाणु कार्यक्रमको जटिल विषय उठाइनेछ । एक वरिष्ठ इरानी अधिकारीका अनुसार अमेरिकाले रोक्का राखेको इरानको २५ अर्ब डलर फुकुवा गर्न सहमत हुने मस्यौदामा उल्लेख छ । अमेरिकी अधिकारीहरूले यो सम्झौताले अन्ततः इरानको परमाणु कार्यक्रम भत्काउने र उच्च संवर्द्धित युरेनियम नष्ट गरिने दाबी गरे पनि इरानी अधिकारीले भने युरेनियमलाई आफ्नै देशमा गाढापन कम (डाइल्युट) गर्न अनुमति पाउने बताएका छन् । यसैबिच, रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमले सम्झौताको प्रशंसा गर्दै कानुनअनुसार इरानसँगको कुनै पनि परमाणु सम्झौता समीक्षा र मतदानका लागि कंग्रेसमा पठाइने स्पष्ट पारेका छन् ।

सम्झौताको आलोचना र राजनीतिक पृष्ठभूमि

बाइडेन प्रशासनका पूर्व विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले ट्रम्पको यो कदमको आलोचना गरेका छन्। उनले इरानलाई महत्त्वपूर्ण छुट दिएको भन्दै परमाणु कार्यक्रम सम्बोधन हुने ग्यारेन्टी नभएको टिप्पणी गरे ।

“परमाणु कार्यक्रमलाई सम्बोधन गरिनेछ भन्ने हामीलाई कुनै ग्यारेन्टी छैन, तर इरानले विश्व अर्थतन्त्रलाई बन्धक बनाएर अमेरिकाबाट केही प्राप्त गर्न सक्छ भन्ने कुरा विश्वलाई देखाएको छ।”

— म्याथ्यु मिलर, पूर्व विदेश मन्त्रालय प्रवक्ता

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायली सेनाले इरानमाथि पहिलो आक्रमण गरेयता इरान र लेबनानमा हजारौँ मानिस मारिएका छन् । आगामी नोभेम्बरमा हुने मध्यावधि चुनावअघि बढ्दो ग्यासको मूल्यले अमेरिकी नागरिक निराश हुँदा यो युद्ध ट्रम्प र रिपब्लिकनहरूका लागि राजनीतिक रूपमा हानिकारक बन्दै गएको थियो ।

नेतान्याहु र ट्रम्पबिच मतभेद

अमेरिकासँग इरानको सम्झौता गराउन लेबनानमा सैन्य कारबाही रोक्नुपर्ने अमेरिकी मागप्रति इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र ट्रम्पबिच मतभेद रहँदै आएको छ। इजरायली सञ्चारमाध्यम एन१२ का अनुसार ट्रम्पले आइतबार फोनमार्फत नेतान्याहुलाई शान्ति सम्झौताको प्रगतिबारे जानकारी गराएका थिए । न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा ट्रम्पले नेतान्याहुलाई ‘धेरै गाह्रो मान्छे’ भन्दै इजरायललाई परमाणु हतियारसम्पन्न इरानबाट बचाएकोमा इजरायली नेताले आफूलाई धन्यवाद दिनुपर्ने तर्क गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्