काठमाडौं – नेपालले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत् उपयोग गर्ने रणनीतिअन्तर्गत सोमबरदेखि बंगलादेशतर्फ ४० मेगावाट विद्युत् निर्यात पुनः सुरु गरेको छ । यो निर्यात आगामी नोभेम्बर १५ सम्म करिब पाँच महिनाको अवधिका लागि निरन्तर रहने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
नेपालले बंगलादेशलाई पठाउने विद्युत् त्रिशुली जलविद्युत् आयोजनाबाट उत्पादित १८ दशमलव ६० मेगावाट र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित २१ द्यशमलव ४० मेगावाट गरी कुल ४० मेगावाट हुनेछ । वर्षायाममा आन्तरिक मागभन्दा बढी उत्पादन हुने ऊर्जा खेर जान नदिई त्यसलाई निर्यातमार्फत आम्दानीमा रूपान्तरण गर्ने उद्देश्यअनुसार यो कार्यक्रम सञ्चालन गरिएको हो । नेपाल र बंगलादेशबीच हालसम्म प्रत्यक्ष अन्तरदेशीय प्रसारण लाइन निर्माण नभएकाले विद्युत् कारोबार भारतीय प्रसारण संरचना र ग्रिड प्रणालीमार्फत भइरहेको छ । त्यसकारण यस्तो ऊर्जा निर्यातका लागि भारतको अनुमति अनिवार्य हुने व्यवस्था छ । भारतीय पक्षबाट प्राप्त स्वीकृतिअनुसार नेपालले यी आयोजनाबाट उत्पादित विद्युत् सन् २०२९ अक्टोबरसम्म बंगलादेश निर्यात गर्न सक्ने व्यवस्था कायम छ ।
नेपालले पछिल्ला केही वर्षदेखि वर्षायाम तथा उच्च उत्पादन हुने समयमा क्षेत्रीय ऊर्जा व्यापारलाई प्राथमिकता दिँदै आएको छ । विशेषगरी भारतसँगको विद्युत् व्यापार विस्तारसँगै बंगलादेशमा पनि नेपाली ऊर्जा निर्यातले नयाँ बजार सुनिश्चित गर्ने अपेक्षा गरिएको छ । यस वर्षको निर्यात तालिका अनुसार जुन १५ देखि नोभेम्बर १५ सम्म विद्युत् आपूर्ति जारी रहनेछ । यसबीच बंगलादेशले थप २० मेगावाट विद्युत् खरिद गर्ने इच्छा व्यक्त गरेको भए पनि त्यसका लागि आवश्यक भारतीय स्वीकृति प्राप्त नभएकाले तत्काल अतिरिक्त परिमाणमा निर्यात सम्भव नभएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । उपलब्ध तथ्यांकअनुसार गत वर्ष जुन मध्यदेखि नोभेम्बर मध्यसम्म नेपालले बंगलादेशमा करिब १४७ गिगावाट–आवर विद्युत् निर्यात गरेको थियो । द्विपक्षीय सहमतिअनुसार बिक्रीदर प्रतियुनिट ६ दशमलव ४० अमेरिकी सेन्ट कायम गरिएको छ । हालको अनुमानित विनिमयदरअनुसार उक्त निर्यातबाट नेपालले करिब एक अर्ब ४३ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको थियो । ऊर्जा क्षेत्रका जानकारहरूका अनुसार यस्तो निर्यातले नेपाललाई वर्षायाममा खेर जाने विद्युत् व्यवस्थापन, विदेशी मुद्रा आर्जन र दक्षिण एसियाली क्षेत्रीय ऊर्जा व्यापारमा दीर्घकालीन उपस्थिति बलियो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया दिनुहोस्