Skip to content

खोटाङमा कार्यरत बझाङकी स्वास्थ्यकर्मी धामी मृत फेला

काठमाडौँ – बझाङ घर भएकी एक स्वास्थ्यकर्मी खोटाङमा आफ्नै डेरामा मृत अवस्थामा फेला परेकी छन् । खोटाङको बराहपोखरी गाउँपालिका–१ स्थित स्वास्थ्य चौकीमा कार्यरत २३ वर्षीया अनिशाकुमारी धामी आइतबार बिहान डेराको कोठाभित्र मृत अवस्थामा फेला परेकी हुन् । उनी स्थानीय मुना तामाङको घरमा डेरा गरेर बस्दै आएकी थिइन् । जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार धामी आइतबार बिहानदेखि कोठाबाट बाहिर ननिस्किएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि घटनास्थलमा पुगेको प्रहरी टोलीले भित्रबाट बन्द रहेको कोठाको ढोका खोलेर हेर्दा उनलाई मृत अवस्थामा फेला पारेको हो ।

प्रहरीले घटनाको कारण तत्काल खुल्न नसकेको जनाएको छ । शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । धामीको असामयिक निधनले स्वास्थ्य क्षेत्रसँगै उनको परिवार र स्थानीय समुदायमा शोक छाएको छ ।

प्रतिक्रिया दिनुहोस्