Skip to content

इरानले होर्मुज जलडमरूमध्य पुनः बन्द भएको दाबी गर्‍यो, अमेरिकाले भन्यो– आवतजावत जारी छ

काठमाडौँ – इरानी सेनाले इजरायलद्वारा दक्षिणी लेबनानमा गरिएको आक्रमणको विरोधस्वरूप होर्मुज जलडमरूमध्य पुनः बन्द गरिएको दाबी गरेको छ। तर अमेरिकी सेनाले भने उक्त दाबी अस्वीकार गर्दै जलमार्ग सामान्य रूपमा सञ्चालन भइरहेको जनाएको छ । इरानले दक्षिणी लेबनानमा इजरायलले गरेको घातक आक्रमणलाई युद्ध अन्त्यका लागि अमेरिकासँग भएको सम्झौताको उल्लंघन भएको आरोप लगाएको छ। इरानका अनुसार उक्त सम्झौताले लेबनानसहित विभिन्न मोर्चामा युद्धविराम कायम गर्ने उद्देश्य राखेको थियो र हालको आक्रमणले त्यसको मर्मविपरीत काम गरेको जनाएको छ ।

अमेरिका–इरानबीच भएको सम्झौतामा विश्वकै महत्त्वपूर्ण व्यापारिक मार्गमध्ये एक मानिने होर्मुज जलडमरूमध्य पुनः सञ्चालन गर्ने विषय पनि समावेश रहेको बताइएको छ। विश्वको करिब २० प्रतिशत तेल तथा तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) यही मार्ग हुँदै ओसारपसार हुने गर्दछ । इरानको घोषणापछि अमेरिकी केन्द्रीय कमाण्डका प्रवक्ता टिम हकिन्सले सञ्चारमाध्यमसँग कुरा गर्दै जलमार्गमा जहाजहरूको आवतजावत निरन्तर भइरहेको बताए। उनले अमेरिकी सेनाले क्षेत्रको अवस्थामाथि निरन्तर निगरानी गरिरहेको र होर्मुज जलडमरूमाथि इरानको नियन्त्रण नरहेको स्पष्ट पारे । बीबीसीको भेरिफिकेसनअनुसार शनिबार कम्तीमा पाँचवटा तेल ट्यांकरले जलडमरूमध्य पार गरेका थिए भने केही जहाजले बीचमै आफ्नो मार्ग परिवर्तन गरेका थिए। यसअघि अमेरिकी केन्द्रीय कमाण्डले पनि शनिबार मात्र ५५ वटा व्यापारिक जहाजले उक्त मार्ग प्रयोग गरेको जनाएको थियो । यस घटनाले मध्यपूर्व क्षेत्रमा तनाव थप बढाउने र विश्व ऊर्जा बजारमा असर पार्ने सम्भावनाबारे अन्तर्राष्ट्रिय रूपमा चासो बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्