दार्चुला — दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहरा ले गाउँसभामा “सुन्दर, समृद्ध र विकसित अपिहिमाल” निर्माण गर्ने लक्ष्यसहित नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । गाउँपालिकाले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगारी तथा वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै दीर्घकालीन विकास रणनीति अघि सारेको जनाएको छ।
कृषि क्षेत्रलाई आधुनिक र व्यावसायिक बनाउन “एक वडा, एक आत्मनिर्भर उत्पादन कार्यक्रम” सञ्चालन गरिने भएको छ। साथै प्राङ्गारिक मल प्रयोगलाई प्रोत्साहन गर्दै अपिहिमाललाई अर्गानिक कार्यथलोका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। वैदेशिक रोजगारीबाट फर्किएका युवालाई लक्षित गरी “रिटर्नी कृषि उद्यम साझेदारी कार्यक्रम”, पशुपालन प्रवर्द्धनका लागि उत्पादनमा आधारित प्रोत्साहन प्रणाली तथा पूर्ण पशु बिमा कार्यक्रम सञ्चालन गरिने नीति लिइएको छ ।
पर्यटन क्षेत्रमा ऐतिहासिक, धार्मिक तथा प्राकृतिक सम्पदाको संरक्षण गर्दै पर्यापर्यटन र साहसिक पर्यटनलाई प्राथमिकता दिइएको छ। अपिहिमाल आधार शिविर, तामाखानी, धरमघर, कपिल हिमाल बेसक्याम्प, सातगंगा चाइमटेला क्षेत्र र बयली ताल लाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने उल्लेख गरिएको छ। रैथाने खानपान, होमस्टे तथा “भेडिगोठ बास” कार्यक्रममार्फत कृषि–पर्यटनलाई आयआर्जनसँग जोड्ने योजना सार्वजनिक गरिएको छ। साथै “अपिहिमाल पर्यटन डिजिटल अभियान” सञ्चालन गरिने भएको छ ।
रोजगारी र सीप विकासका लागि गाउँपालिकाले “स्थानीय रोजगार बैंक” अवधारणा अघि सारेको छ। दुर्गम क्षेत्रका उद्यमीलाई प्रविधि हस्तान्तरण गर्न “उद्यमीको आँगनमा प्रविधि” अभियान तथा परम्परागत हस्तकला संरक्षणका लागि “पुर्ख्यौली सीप, आधुनिक पहिचान” कार्यक्रम ल्याइने जनाइएको छ । स्वास्थ्य क्षेत्रमा नागरिक–केन्द्रित डिजिटल सेवा विस्तार गर्दै टेलिहेल्थ तथा टेलिमेडिसिनसहितको स्मार्ट हेल्थ कार्यक्रम सञ्चालन गरिने भएको छ। खण्डेश्वरी स्वास्थ्य चौकीलाई १० शय्याको आधारभूत अस्पताल मा स्तरोन्नति गरिने तथा महिलाका लागि पाठेघरको मुख र स्तन क्यान्सरको निःशुल्क परीक्षण कार्यक्रम सञ्चालन गरिने नीति छ। बालबालिकाका लागि “खोज र खोप” अभियान पनि सञ्चालन गरिनेछ ।
शिक्षातर्फ सामुदायिक विद्यालयहरूमा चरणबद्ध रूपमा स्मार्ट क्लासरुम लागू गरिने तथा प्रत्येक वडामा कम्तीमा एक नमुना विद्यालय विकास गरिने लक्ष्य राखिएको छ। आर्थिक रूपमा कमजोर तर जेहेन्दार विद्यार्थीलाई एमबिबिएससहित उच्च शिक्षामा छात्रवृत्ति कार्यक्रम विस्तार गरिने भएको छ । सामुदायिक सहभागिता बढाउन “मेरो गाउँ, मेरो पसिना” अभियानलाई अनिवार्य बनाइनेछ। यसअन्तर्गत महिनाको एक दिन जनप्रतिनिधि, कर्मचारी र नागरिकको सहभागितामा सार्वजनिक पूर्वाधार निर्माण तथा मर्मत गरिनेछ। साथै “एक घर एक धारा” कार्यक्रमलाई डिजिटल महसुल प्रणालीसँग जोडिने र पानीको गुणस्तर अनुगमनका लागि डिजिटल वाटर क्वालिटी ड्यासबोर्ड सञ्चालन गरिनेछ।
पूर्वाधार विकासमा अबदेखि विस्तृत इन्जिनियरिङ अध्ययन (डीपीआर) र प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन अनिवार्य गरिने भएको छ। सार्वजनिक तथा निजी भवन निर्माणमा राष्ट्रिय भवन संहिता कडाइका साथ लागू गरिने तथा नक्सा पास र अभिलेखीकरण अनिवार्य बनाइने नीति तय गरिएको छ । गाउँपालिकाले साना आयोजनामा बजेट छर्ने प्रवृत्ति निरुत्साहित गर्दै रूपान्तरणकारी आयोजना मा पुँजीगत खर्च केन्द्रित गर्ने जनाएको छ। साथै विपद् जोखिम न्यूनीकरणलाई विकाससँग जोड्दै राहत तथा उद्धार व्यवस्थापनलाई थप प्रभावकारी बनाउने नीति लिइएको छ । अपिहिमाल गाउँपालिकाले नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ भने आज गाउँसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिने जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्