काठमाडौं – दार्चुलाको शैल्यशिखर नगरपालिका–९ का युवा उद्यमी राजेश सिंह विष्टले आफ्नै देशमा केही गरेर देखाउने दृढ अठोटलाई वास्तविकतामा परिणत गर्दै काठमाडौँको शङ्खमूलमा ‘लेकाली सेकुवा’ सञ्चालनमा ल्याएका छन् । वर्षौँको निरन्तर संघर्ष, इमानदारी र अथक मेहनतपछि विष्टले सुरु गरेको ‘लेकाली सेकुवा’ले पहाडी तथा लेकाली भेगको मौलिक, अर्गानिक र परम्परागत स्वाद राजधानीवासीमाझ पस्कने लक्ष्य लिएको छ। व्यवसायिक नाफामात्र नभई स्थानीय उत्पादन, मौलिक परिकार र स्वदेशी उद्यमलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ उनले यो व्यवसाय सुरु गरेका हुन् ।
बुधबार आयोजित एक विशेष कार्यक्रमका बीच राष्ट्रिय सभा उपाध्यक्ष लिला भण्डारीले ‘लेकाली सेकुवा’को औपचारिक उद्घाटन गरिन् । कार्यक्रममा गणेश ठगुन्नालगायत विभिन्न राजनीतिक, सामाजिक तथा व्यवसायिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । उद्घाटनपछि सञ्चालक राजेश सिंह विष्टले स्वदेशमै अवसर खोज्ने युवाहरूका लागि आफ्नो यात्रा प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरे । उनले भने, “रोजगार र अवसरका लागि विदेश नै जानुपर्छ भन्ने सोच बदल्न आवश्यक छ। इमानदारी, धैर्यता र निरन्तर मेहनत गर्न सकियो भने आफ्नै देशमा पनि सफल हुन सकिन्छ। ‘लेकाली सेकुवा’ केवल एउटा व्यवसाय होइन, हाम्रो पहाडी गाउँघरको स्वाद, संस्कृति र स्थानीय उत्पादनलाई राजधानीसम्म पुर्याउने प्रयास हो ।”
उनले दार्चुलासहित सुदूरपश्चिमका स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै गुणस्तरीय तथा अर्गानिक परिकार ग्राहकसम्म पुर्याउने प्रतिबद्धता पनि व्यक्त गरे । “ग्राहकलाई केवल सेकुवा खुवाउने होइन, गाउँघरको मौलिक स्वाद र आत्मीयताको अनुभूति दिलाउने हाम्रो उद्देश्य हो। गुणस्तरमा कुनै सम्झौता नगरी उत्कृष्ट सेवा दिन हामी प्रतिबद्ध छौँ,” विष्टले भने । उनका अनुसार ‘लेकाली सेकुवा’मा विशेषगरी पहाडी स्वादमा तयार गरिएका विभिन्न प्रकारका सेकुवा, स्थानीय मसला र परम्परागत परिकार उपलब्ध हुनेछन् । स्वदेशमै केही गरेर देखाउने अठोटका साथ सुरु भएको विष्टको यो यात्रा अहिले धेरै युवाका लागि प्रेरणाको विषय बनेको छ । विदेशिने लहर बढिरहेका बेला आफ्नै देशमा सम्भावना खोज्दै उद्यममा होमिएका विष्टले मेहनत र लगनशीलताले सफलता हासिल गर्न सकिने सन्देश दिएका छन् ।




प्रतिक्रिया दिनुहोस्