काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता हर्मजु जलमार्गकै विषयमा अड्किएको छ । इरानको आणविक कार्यक्रम, उसका सम्पत्ति फुकुवा गर्ने सर्त र ३०० अर्ब डलरभन्दा बढीको लगानी भित्र्याउने लगायत समझदारी गर्नुपर्ने विभिन्न विषय भए पनि वार्ता हर्मुजबाट अघि बढ्न नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । कतारको दोहामा अमेरिका र इरानबीच बुधबार वार्ता भएको थियो। अमेरिकी अनलाइन एक्सियसका अनुसार दुई देशबीच अप्रत्यक्ष वार्ता भएको हो। यसको मध्यस्थता कतार र पाकिस्तानी अधिकारीहरूले गरेका थिए । वार्तामा हर्मुजको विषयमा दुई देशबीच अझै सहमति नजुटेको भनेर एक्सियसले लेखेको छ । इरानले ओमानसँग मिलेर हर्मुज जलमार्गको सञ्चालनको व्यवस्था गर्ने र त्यहाँबाट आवतजावत हुने जहाजहरूबाट शुल्क उठाउने सर्त राखेको छ।
अमेरिकाले भने हर्मुजमा निर्वाध आवतजावत हुनुपर्ने बताउँदै आएको छ । उसले सम्झौतापश्चात इरानले प्राप्त गर्ने लगानीको परिमाण हर्मुजबाट टोल उठाउने रकमभन्दा धेरै हुने भनेर सहमतिको प्रयास गरेको छ । त्यति मात्रै होइन अमेरिकी अधिकारीका अनुसार यदि सम्झौताअन्तर्गत प्रतिबन्ध हटाइयो भने इरानले तेल तथा अन्य स्रोतको स्वतन्त्र निर्यातबाट प्राप्त गर्ने आम्दानी हर्मुजमा शुल्क उठाएर हुने कमाइभन्दा सयौँ गुणा बढी हुनेछ । ‘हामीले इरानलाई ठूलो सोच्न आग्रह गरेका छौं। प्रतिबन्ध हटेपछि उसले प्राप्त गर्ने आर्थिक अवसर जहाजबाट शुल्क उठाउने रणनीतिभन्दा धेरै लाभदायक हुनेछ,’ एक अमेरिकी अधिकारीले एक्सियससँग भनेका छन् । यद्यपि, वार्तामा सहभागी स्रोतहरूका अनुसार दुई साताअघि भएको प्रारम्भिक समझदारी (एमओयू) का कार्यान्वयनसम्बन्धी विषयमै अझै मतभेद कायम छ । यही कारण अन्तिम आणविक सम्झौताभन्दा प्रारम्भिक सहमति नै विफल हुने जोखिम बढिरहेको आकलन गरिएको छ ।
दुई देशबीच गत आइतबार हर्मुज क्षेत्रमा एक सातासम्म तनाव नबढाउने समझदारी भएको अमेरिकी पक्षले जनाएको छ । ‘आउँदो सातासम्म मिसाइल आक्रमण नगरी शान्त वातावरणमा एमओयूका सबै पक्षमा काम गर्ने समझदारी बनेको छ,’ ती अधिकारीले भने, ‘यदि उनीहरूले फेरि आक्रमण गरे भने अमेरिका अझ शक्तिशाली जवाफ दिनेछ ।’ इरानी उपविदेशमन्त्री काजेम घरिबाबादीले भने बुधबारको वार्तापछि अमेरिका र इरानबीच प्रत्यक्ष वार्ता नभएको स्पष्ट पारे। उनका अनुसार सबै छलफल कतार र पाकिस्तानका मध्यस्थकर्तामार्फत भएको हो ।
घरिबाबादीले एमओयू उल्लंघनसम्बन्धी विषय तत्काल समाधान गर्न आपत्कालीन सञ्चार संयन्त्र स्थापना गर्ने सहमति भएको बताए । साथै कतारमा रोक्का गरिएको इरानको सम्पत्तिबाट आवश्यक मानवीय सामग्री खरिद गरेर इरान पठाउने विषयमा पनि छलफल भएको जानकारी दिए । यद्यपि कतारमा रोक्का गरिएको करिब ३ अर्ब डलर बराबरको इरानी सम्पत्ति प्रयोगबारे परस्पर मतभेद छ ।
क्षेत्रीय स्रोतहरूले मानवीय सामग्री खरिदका लागि उक्त रकम प्रयोग गर्ने समझदारी बनेको बताएका छन् भने अमेरिकी अधिकारीहरूले कुनै पनि रकम मुक्त नगरिएको दाबी गरेका छन् । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताएका छन्। उनले भने, ‘अमेरिकी प्राविधिक टोली इरानी, कतारी तथा अन्य पक्षसँग बसेर वार्तालाई अघि बढाइरहेको छ। अहिले प्रारम्भिक चरणमै भए पनि छलफल राम्रो भइरहेको छ ।’ राष्ट्रपति ट्रम्पले पनि बुधबार पत्रकारहरूसँग कुरा गर्दै इरानसँग धेरै राम्रो बैठक भएको र इरानको आणविक निःशस्त्रीकरण राम्रोसँग अघि बढिरहेको दाबी गरे। तर वार्तासँग परिचित स्रोतहरूका अनुसार यस चरणको प्राविधिक छलफलमा इरानको आणविक कार्यक्रमबारे ठोस छलफल नै भएको थिएन । भान्सले पनि उक्त विषय पछि मात्रै उठाइने बताएका छन् । वार्तामा अमेरिकी विशेष दूत स्टिभ विटकोफ र ट्रम्पका ज्वाइँ जारेड कुशनरले कतारका प्रधानमन्त्री तथा अमिरसँग भेट गरेका थिए ।
हर्मुज जलमार्ग नै अहिले वार्ताको सबैभन्दा जटिल विषय बनेको छ। विश्वको करिब पाँचौं हिस्सा तेल तथा तरलीकृत प्राकृतिक ग्यास यही मार्गबाट ओसारपसार हुने भएकाले यसको रणनीतिक महत्व अत्यधिक छ । इरानले ओमानसँग संयुक्त रूपमा जलडमरूमध्यको प्रशासन सञ्चालन गर्ने र ६० दिने अन्तरिम अवधिपछि जहाजसँग मार्ग शुल्क उठाउने अडान राखेको छ । तर अमेरिकाको भनाइमा हर्मुज अन्तर्राष्ट्रिय जलमार्ग भएकाले त्यससम्बन्धी कुनै पनि नयाँ व्यवस्था खाडीका अन्य मुलुकहरूको सहमतिबिना लागू हुन सक्दैन ।यसैबीच कतारको विदेश मन्त्रालयले वार्ताको अर्को चरण इरानका दिवंगत सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको जुलाई ९ मा हुने अन्त्येष्टिपछि बस्ने जनाएको छ । मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको वक्तव्यमा वार्ताले अन्तरिम समझदारी कार्यान्वयनका विषयमा सकारात्मक प्रगति भएको उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्