काठमाडौँ – अर्जेन्टिना फिफा विश्वकप २०२६ को प्रि-क्वार्टरफाइनलमा प्रवेश गरेको छ। शनिबार बिहान सम्पन्न रोमाञ्चक खेलमा केप भर्डेलाई अतिरिक्त समयमा ३–२ गोल अन्तरले पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो । खेलको २९औँ मिनेटमा कप्तान लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफमा त्यसपछि थप गोल हुन नसक्दा अर्जेन्टिनाले १–० को अग्रता कायम राख्यो । दोस्रो हाफको ५९औँ मिनेटमा डेरोय डुआर्टेले गोल गर्दै केप भर्डेलाई १–१ को बराबरीमा फर्काए। निर्धारित ९० मिनेटमा दुवै टोलीले विजयी गोल निकाल्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको पहिलो हाफसम्म दुवै टोलीले एक–एक गोल थप्दै खेल २–२ को बराबरीमा पुगेको थियो। तर अतिरिक्त समयको दोस्रो हाफमा केप भर्डेका खेलाडीबाट भएको आत्मघाती गोल निर्णायक बन्यो र अर्जेन्टिनाले ३–२ को जित हात पार्दै प्रि-क्वार्टरफाइनलमा स्थान बनायो । अब अर्जेन्टिनाले क्वार्टरफाइनल प्रवेशका लागि प्रि-क्वार्टरफाइनलमा इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्