Skip to content

महेश बस्नेतको भविष्यवाणी- दसैँपछि बालेन सरकारविरुद्ध ठूलो विद्रोह हुन्छ, मंसिरभित्र ढल्छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले दसैँपछि बालेन शाह नेतृत्वविरुद्ध ठूलो विद्रोह हुने चेतावनी दिएका छन्। पार्टी मुख्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै बालेन सरकार मंसिर नकट्ने भविष्यवाणी गरे । उनले भने, ‘बालेनविरुद्ध अब दसैँ पछाडि ठुलो विद्रोह हुँदै छ। एमाले लगायतका दलहरूले आन्दोलनको घोषणा गर्दै छौँ, हामी आन्दोलनको तयारीमा छौँ। मलाई लाग्छ मंसिर भन्दा बढी बालेन सरकार जान्छ भन्ने लाग्दैन ।’

उनले सरकारलाई सुकुम्वासीको आँसुले पोल्ने टिप्पणी गरे । उनले थपे, ‘यो सरकारलाई गरिबकाे पीडाले पोल्नेछ। असारको बेला मल छैन। मजदुरहरुको संगठित हुन पाउने अधिकार नै खोसेको छ, विद्यार्थीहरुको संगठित हुन पाउने अधिकार नै खोसेको छ। सिंहदरबारका वरिपरिका आठ–दस किलोमिटरका सुकुम्बासी बस्ती हटाएको छ ।’

उनले हिजो बालेनले आफ्नो श्रीमतीलाई ट्राफिकले चेक हुँदा सिंहदरबार जलाउने एउटा परिकल्पना गरेर आह्वान गरेको आरोप लगाए । उनले थपे, ‘सिंहदरबार, संसद्, सर्वोच्च अदालत जलाएर उनी सत्तामा पुगे। यो वरिपरिका असन्तुष्ट समूहहरू र सङ्गठित समूहहरूले भोलि बालेनको विरुद्ध त्यही खालको गतिविधि गर्छन् भनेर योजनाबद्ध रूपमा राज्यका संयन्त्रहरू दुरुपयोग गरेर सुकुम्वासीका घर भत्काएका छन् र बर्खामा बिचल्ली पारेर घरबारविहीन बनाएका छन्, सेल्टरबाट निकालिदिएका छन् ।’ उनले बालेन र उनका मन्त्रीहरूलाई आलोचना गरे बापत हरेक मान्छे जेल जानुपर्ने अवस्था आएको बताए ।

प्रतिक्रिया दिनुहोस्