काठमाडौँ – इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने योजना बनाएको सार्वजनिक भएको छ । इरानले ट्रम्पलाई लक्ष्य गर्ने योजना बनाएको खुफिया सूचना इसराइलले वासिङ्टनलाई दिएको अमेरिकी अखबार द वाल स्ट्रिट जर्नलले सार्वजनिक गरेको हो ।
वाल स्ट्रिटको खबर सही निस्किए वासिङ्टन-तेहरानबीच जारी तनाव अझै चर्किने सम्भावना छ । यो सूचना इसराइलले हालसालै अमेरिकालाई उपलब्ध गराएको भनेर पनि वाल स्ट्रिट जर्नलले लेखेको छ। यसबारेमा इसराइली दूतावास र संयुक्त राष्ट्रसंघ स्थित इरानी नियोगले भने तत्काल प्रतिक्रिया दिएको छैन । राष्ट्रपति ट्रम्प आफैले पनि टर्कीमा नेटो शिखर सम्मेलनका क्रममा पत्रकारहरूसँगको कुराकानीमा पनि ट्रम्पले आफ्नो ज्यानमाथि खतरा रहेको बताएका थिए ।
‘उनीहरू अमेरिकी नेतालाई हटाउन चाहन्छन्, अर्थात् मलाई। म उनीहरूको हरेक सूचीमा छु। आज बिहान पनि त्यही देखें। अहिलेसम्म म केही भाग्यमानी भएको हुन सक्छु, तर त्यो भाग्य कति समय टिक्छ भन्न सकिँदैन ।’ राष्ट्रपति ट्रम्पको कार्यालय ह्वाइट हाउसले पनि खुफिया सूचनाबारे ट्रम्पको भनाइ नै आधिकारिक रहेको बताएको छ ।
इरानले सन् २०२० मा अमेरिकी आदेशमा मारिएका इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)का शीर्ष कमान्डर कासिम सुलेमानीको हत्याको बदला ट्रम्पसँग लिने चेतावनी वर्षौंदेखि सार्वजनिक रूपमा दिँदै आएको छ । फेब्रुअरी २८ मा अमेरिकाले इसराइलसँग मिलेर इरानमा हमला गरी त्यहाँका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी सहित उच्च अधिकारीहरूको हत्या गरेको थियो । खामेनीको अन्त्येष्टिमा सहभागी केही समर्थकहरूले ट्रम्पविरुद्ध नाराबाजी गरेका थिए। उनीहरूले ‘हामी ट्रम्पलाई मार्नेछौँ’ लेखिएको ब्यानरसमेत प्रदर्शन गरेका थिए । टर्कीबाट फर्कने क्रममा पनि ट्रम्पले सुरक्षा सतर्कता अपनाएका थिए। उनले कतारले उपहार दिएको बोइङ ७४७-८ को सट्टा पुरानो ‘एयर फोर्स वान’ विमान प्रयोग गरेका थिए ।
ट्रम्पको सुरक्षाको जिम्मा लिएको सिक्रेट सर्भिसको आग्रहमा टर्कीबाट फर्किने क्रममा यसो गरिएको भनेर त्यसबारे जानकार अधिकारीहरूको हवाला दिंदै द न्यूयोर्क टाइम्सले जनाएको छ । टर्कीबाट प्रस्थान गर्दा राष्ट्रपतिको विमान परिवर्तन गर्नु कुनै निश्चित खतराको कारण नभई सिक्रेट सर्भिसको सल्लाहमा गरिएको एक सतर्कताको उपाय मात्र भएको उनीहरूले जनाएका छन् । विगतमा कतारी राजपरिवारले प्रयोग गरेको विमानको विलासी सुविधाहरू देखेर दंग परेका ट्रम्पले नेटो शिखर सम्मेलनका लागि टर्की जान सोमबार राति सोही विमानको प्रयोग गरेका थिए । उनी टर्की पुगेपछि इरानसँगको द्वन्द्व फेरि चर्कियो र अमेरिकाले इरानविरुद्ध शृङ्खलाबद्ध आक्रमणहरू गर्यो। त्यसैले इरानले सो नयाँ विमानमा हमला गर्नसक्ने खतराका कारण विमानको अदलाबदली गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्