Skip to content

‘गम्भीर मुद्दाबाट ध्यान मोड्न नियोजित गतिविधि गरियो’ : धर्मानन्द जोशी

काठमाडौं – नेपाली कांग्रेसका नेता धर्मानन्द जोशीले पछिल्ला दिनमा उठिरहेका गम्भीर जनसरोकारका विषयबाट जनताको ध्यान अन्यत्र मोड्न नियोजित प्रयास भएको आरोप लगाएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै जोशीले जनताले केही दिनदेखि सरकारलाई विभिन्न गम्भीर विषयमा प्रश्न उठाइरहेका बेला बहसलाई विषयान्तर गर्न न्युरोड र मिडिया हाउसहरू अगाडि नियोजित रूपमा पार्किङ गराइएको अनुभूति भएको बताएका छन् । उनले गणेश नेपालीको आत्मदाह, काठमाडौं र रौतहटमा थप दुई युवाले आत्मदाहको प्रयास गरेको घटना, सुकुम्बासीको समस्याबारे आवाज उठाउँदा जेन्जी अगुवा मजिद अन्सारीमाथि भएको प्रहरी कुटपिट तथा कर्णालीमा हराएको यात्रुबाहक बस अझै फेला नपरेको विषयजस्ता गम्भीर मुद्दामाथि बहस चलिरहेका बेला त्यसलाई ओझेलमा पार्ने प्रयास भएको दाबी गरेका छन् ।

जोशीले गणेश नेपालीको आत्मदाह प्रकरणमा मौन देखिएको सत्तारूढ दलले मिडिया हाउसअगाडिको पार्किङ घटनाबारे भने विज्ञप्ति निकालेर अनुसन्धानको माग गरेको उल्लेख गर्दै यसले गम्भीर मुद्दाबाट ध्यान मोड्ने र मिडियामाथि दबाब सिर्जना गर्ने प्रयास भएको आरोप लगाए । उनले राज्य सञ्चालन गर्नेहरू यति निरीह र निम्नस्तरीय हुन नहुने तथा जनतालाई कमजोर ठान्ने प्रवृत्तिले फेरि पनि अप्रिय परिस्थिति निम्त्याउन सक्ने चेतावनी दिएका छन् । जोशीले यस्ता गतिविधि भ्रर्त्सनायोग्य भएको उल्लेख गर्दै सरकारले जनताका वास्तविक समस्यामाथि गम्भीर भएर जवाफ दिनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्