काठमाडौं – लिटिल एन्जल्स स्कुलले रोमाञ्चक फाइनलमा काष्ठमण्डप विद्यालयलाई ३–२ गोल अन्तरले पराजित गर्दै पहिलो संस्करणको आईविबी किड्स कप २०२६ को उपाधि जितेको छ। १२ जुलाई २०२६ मा सम्पन्न फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै लिटिल एन्जल्सले च्याम्पियन बन्न सफल भएको हो।
आईविबी नेपालको आयोजनामा सम्पन्न प्रतियोगिता १० वर्षमुनिका बाल फुटबल खेलाडीहरूलाई लक्षित अन्तरविद्यालय फुटबल प्रतियोगिता हो। फिफा विश्वकपको अवधारणाबाट प्रेरित प्रतियोगितामा आठ विद्यालयले आठ फरक देशको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा ज्ञानोदय बालबाटिका स्कुल, डीएभी स्कुल, दरबार हाई स्कुल, प्राइम ग्लोबल स्कुल, काष्ठमण्डप विद्यालय, लिटिल एन्जल्स स्कुल, क्याम्पियन स्कुललगायतका विद्यालय सहभागी थिए।
फाइनल खेल सुरुदेखि नै प्रतिस्पर्धात्मक बनेको थियो। दुवै टोलीले आक्रामक खेल प्रस्तुत गरे पनि लिटिल एन्जल्सले अन्ततः ३–२ को जित निकाल्दै उपाधि उचाल्यो भने काष्ठमण्डप विद्यालय प्रथम उपविजेतामा सीमित भयो। प्रतियोगितामा व्यक्तिगत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि सम्मान गरिएको थियो। लिटिल एन्जल्स स्कुलका आशुतोष पाण्डे प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (एमभीपी) घोषित भए भने काष्ठमण्डप विद्यालयका सम्राट विक्रम शाह उत्कृष्ट गोलरक्षक बने। समापन समारोहमा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले विजेता टोलीलाई ट्रफी प्रदान गरेका थिए। मञ्चका प्रथम उपाध्यक्ष प्रज्वल ओलीले एमभीपी तथा उत्कृष्ट गोलरक्षकलाई व्यक्तिगत पुरस्कार वितरण गरेका थिए। समारोहलाई सम्बोधन गर्दै अध्यक्ष अधिकारीले बालबालिकाको ग्रासरुट खेलकुद विकासका लागि यस्ता प्रतियोगिताको आवश्यकता रहेको उल्लेख गरे। उनले आईविबी नेपालको पहलको प्रशंसा गर्दै भविष्यका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताए।
यसअघि ९ जुलाई २०२६ मा प्रतियोगिताको उद्घाटन प्रख्यात हवाई उड्डयनकर्मी तथा सेलिब्रिटी क्याप्टेन विजय लामाको प्रमुख आतिथ्यमा भएको थियो। उद्घाटन समारोहमा उनले युवा खेलाडीहरूको उत्साह र खेलभावनाको प्रशंसा गर्दै भविष्यमा नेपाली खेलाडीहरूलाई फिफा विश्वकपमा देख्ने आशा व्यक्त गरेका थिए। आयोजकका अनुसार आईविबी किड्स कप २०२६ को उद्देश्य उपाधि जिताउने मात्र नभई बाल खेलाडीहरूमा प्रतिस्पर्धात्मक भावना, टिमवर्क, आत्मविश्वास, मित्रता तथा निष्पक्ष खेल संस्कृतिको विकास गर्नु थियो। प्रतियोगिताको सफल समापनसँगै बाल फुटबलको प्रवर्द्धनमा आईविबी नेपालको अर्को महत्त्वपूर्ण उपलब्धि थपिएको आयोजकले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्