काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नीट (NEET) परीक्षा पेपर लिक प्रकरणमा सरकारले सूचना प्राप्त हुनेबित्तिकै तत्काल कारबाही गरेको बताएका छन् । मंगलबार संसदको मनसुन अधिवेशनको दोस्रो दिन आयोजित एनडीए सांसदहरूको ‘मंगल मिलन’ कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले पेपर लिक घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको बताएका हुन् । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै भारतका संसदीय कार्यमन्त्री किरण रिजिजूले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै सरकारले गडबडीको खबर आएलगत्तै कारबाही अघि बढाएको जानकारी दिए।
रिजिजूका अनुसार प्रधानमन्त्री मोदीले नीट परीक्षा पेपर लिक प्रकरणमा १३ जनालाई पक्राउ गरी जेल पठाइएको तथा विद्यार्थीहरूको भविष्यलाई प्राथमिकतामा राख्दै कुनै ढिलाइ नगरी पुनः परीक्षा सञ्चालन गरेर नतिजासमेत सार्वजनिक गरिएको बताएका छन्। प्रधानमन्त्री मोदीले भविष्यमा यस्ता पेपर लिकका घटनाहरू दोहोरिन नदिन सरकारले कडा कानुनी तथा प्रशासनिक उपायहरू अवलम्बन गरिरहेको पनि उल्लेख गरेका छन्। प्रधानमन्त्रीको यो प्रतिक्रिया शिक्षा प्रणालीमा देखिएको अनियमितताको विरोध गर्दै ककरोच जनता पार्टी (सीजेपी) ले देशव्यापी प्रदर्शन गरिरहेका बेला आएको हो। सीजेपीले पेपर लिक प्रकरणमा सरकारको जिम्मेवारीको प्रश्न उठाउँदै आन्दोलनलाई निरन्तरता दिएको छ।



प्रतिक्रिया दिनुहोस्