काठमाडौं – गायिका समीक्षा अधिकारीले आफ्नो नम्बर काम नपरेसम्म कसैलाई नदिन आग्रह गरेकी छन् । बिनाकाम फोन गरेर दुःख दिने गरेको भन्दै उनले आफ्नो नम्बर माग्नबित्तिकै कसैलाई पनि नदिन उनको अनुरोध छ । करिब डेढ वर्षदेखि एउटै व्यक्तिले पटक–पटक फरक–फरक नम्बरबाट आफूलाई फोन गरेर दुःख दिइरहेको उनको भनाइ छ ।
“फोन उठाउँदा म रमेश शाही भन्नुहुन्छ, तर के कामले फोन गर्नुभएको ? भन्दा आफ्नो नामबाहेक कुनै स्पष्ट कुरा गर्नुहुन्न । एउटा नम्बर ब्लक गरेपछि अर्को नम्बरबाट फेरि उही कुरा दोहोरिन्छ,” समीक्षा फेसबुकमा लेख्छिन्, “डेढ वर्षसम्म लगातार यस्तो भइरहेपछि आज यो कुरा सार्वजनिक रूपमा लेख्नुपर्ने बाध्यता भयो ।” डेढ वर्षको अवधिमा उनले करिब ५०० वटा फरक–फरक नम्बरबाट फोन गरेको र आफूले कल ब्लक गरेको उनले बताएकी छन् । अझै तीन व्यक्तिले अरू व्यक्तिको मोबाइल नम्बर प्रयोग गरेर फोन गरिरहेको समीक्षाको गुनासो छ । “कृपया मेरो नम्बर कसैले माग्दैमा बिनाकारण अरूलाई नदिनुहोला । उहाँले मेरो नम्बर किन र के कामका लागि माग्नुभएको हो, एकपटक बुझेर मात्र दिनुहोला,” समीक्षाले लेखेकी छन्, “उहाँलाई आफ्नो मोबाइल नम्बर दिने सबैजनाले कृपया सोचेर र बुझेर मात्र आफ्नो नम्बर उपलब्ध गराइदिनुहोला ।”



प्रतिक्रिया दिनुहोस्