Skip to content

न्युजिल्यान्डमा पनि १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने तयारी

काठमाडौँ – न्युजिल्यान्डले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने उद्देश्यसहित विधेयक ल्याउने भएको छ । बिबिसीका अनुसार नयाँ प्रस्तावमा टिकटक, इन्स्टाग्राम, स्न्यापच्याट र फेसबुकलगायत सामाजिक सञ्जाल प्लेटफर्महरूले आफ्ना प्रयोगकर्ताको उमेर १६ वर्षभन्दा माथि रहेको सुनिश्चित गर्न पर्नेछ । यो सुनिश्चित गरी आफ्नो दायित्व पूरा गर्न असफल हुने प्लेटफर्मलाई आम्दानीको १० प्रतिशतसम्म जरिवाना हुन सक्ने गरी कानुन ल्याउन लागेको हो ।

प्रधानमन्त्री क्रिस्टोफर लक्सनले सामाजिक सञ्जालले बालबालिकालाई हानिकारक सामग्री, लत लाग्ने प्रविधिको सम्पर्कमा पुर्‍याइरहेको बताएका छन् । उनले सामाजिक सञ्जालका कारण बालबालिकाको पारिवारिक जीवन, मानसिक स्वास्थ्य, निद्रा र शिक्षामा असर परिरहेको बताए । ‘वास्तविक संसारमा बालबालिकालाई सुरक्षित राख्न हामीसँग सुरक्षा व्यवस्था छन्। अब भर्चुअल संसारमा पनि त्यस्तै सुरक्षा आवश्यक छ,’ उनले भने । न्युजिल्यान्ड सरकारले ल्याउन लागेको उक्त विधेयकमा केही राजनीतिक दलहरूले भने विपक्षमा मतदान गर्ने बताएका छन्। यो विधेयक संसदबाट पारित गर्न सरकारले आवश्यक मत पाउँछ वा पाउँदैन भन्ने यकिन भने छैन ।

यसअघि अस्ट्रेलिया, बेलायत लगायत देशले पनि १६ वर्ष भन्दा मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध/कडाइ गर्न थालेका थिए । न्युजिल्यान्ड सरकारले अन्य कुन-कुन ‘उच्च जोखिम’ भएका प्लेटफर्मलाई प्रतिबन्धको दायरामा ल्याइने हो भन्नेबारे भने स्पष्ट गरेको छैन । संसदमा पेस गरिने अनलाइन सेफ्टी विधेयकअन्तर्गत सामाजिक सञ्जाल कम्पनीहरूले प्रयोगकर्ताको उमेर १६ वर्षभन्दा बढी रहेको सुनिश्चित गर्न अनुहारबाट उमेर अनुमान गर्ने प्रविधि र डिजिटल पहिचान प्रमाणीकरणजस्ता विधि प्रयोग गर्नुपर्ने हुन्छ । प्रतिबन्ध उल्लंघन गरेमा बालबालिका, अभिभावक वा हेरचाहकर्तालाई कुनै जरिवाना प्रस्ताव गरिएको छैन । तर, सामाजिक सञ्जाल कम्पनीलाई लाग्ने जरिवाना अस्ट्रेलियाको भन्दा निकै बढी हुन सक्ने बिबिसीले समाचारमा उल्लेख गरेको छ । अस्ट्रेलियामा अधिकतम ९ करोड ९० लाख अमेरिकी डलर सम्म जरिवाना हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्