काठमाडौं — रसुवा जिल्लाको टिमुरे, स्याफ्रुबेंसीलगायतका क्षेत्रमा आएको आकस्मिक बाढीबाट ठूलो धनजन तथा भौतिक क्षति भएको भन्दै एकता व्यापार संघले दुःख व्यक्त गरेको छ । संघले आज बिहान करिब ८:४० बजे आएको अकल्पनीय बाढीका कारण स्थानीय बस्ती, सडक, सरकारी भवन तथा भन्सार कार्यालयलगायतका संरचनामा क्षति पुगेको जनाएको छ । बाढीका कारण हजारौँ व्यक्ति सम्पर्कविहीन भएको जानकारी आएको भन्दै संघले घटनाको वास्तविक विवरण तत्काल संकलन गर्न सरकारसँग माग गरेको छ ।
एकता व्यापार संघले सम्पर्कविहीन नागरिकहरूको तत्काल खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन, प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा बाढीबाट भएको क्षतिको यथार्थ विवरण सार्वजनिक गर्नसमेत सरकारको ध्यानाकर्षण गराएको छ । संघले यस दुःखद घडीमा बाढी प्रभावित परिवार तथा व्यवसायीहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै व्यवसायीहरूलाई विचलित नभई धैर्य धारण गर्न आग्रह गरेको छ । एकता व्यापार संघका अध्यक्ष तेज प्रसाद आचार्यले जारी गरेको विज्ञप्तिमार्फत सरकारसँग तत्काल खोजी, उद्धार र राहत कार्य प्रभावकारी बनाउन जोडदार माग गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्