काठमाडौं – नेपाली जनसम्पर्क समिति, साइप्रसको तेस्रो अधिवेशनबाट पुष्पा मिश्रको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ। मिश्र यसअघि पनि समितिको अध्यक्षको जिम्मेवारीमा थिइन् । आइतबार सम्पन्न अधिवेशनले मिश्रको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको निर्वाचन समितिका संयोजक विन्दु दुलालले जानकारी दिए । नवनिर्वाचित कार्यसमितिको उपसभापतिमा मायादेवी वलि खत्री र भुवन खड्का चयन भएका छन्। महामन्त्रीमा प्रकाश खड्का र पार्वती सापकोटा तथा सहमहामन्त्रीमा कैलास बस्नेत र सिताराम ढुंगाना सर्वसम्मत निर्वाचित भएका छन्। कोषाध्यक्षमा रिता थापा चयन भएकी छन् ।
त्यस्तै, कार्यसमिति सदस्यमा सुमन कार्की, सुदर्शन नेगी, इन्दिरा बानियाँ र रामकृष्ण दाहाल निर्वाचित भएका छन्। साइप्रसमा नेपाली कांग्रेसका ५०० भन्दा बढी क्रियाशील सदस्य रहेको बताइएको छ । अधिवेशनको उद्घाटन नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौला पन्तले गरेकी थिइन्। भर्चुअल उद्घाटन समारोहलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै संग्रौलाले साइप्रसमा रहेका नेपाली घरेलु कामदार, विशेषगरी महिलामाथि हुने श्रम शोषण, अत्यधिक कार्यबोझ र घरेलु हिंसाजस्ता समस्या समाधान गर्न सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराइन् । साइप्रसमा नेपालको स्थायी दूतावास नरहेको अवस्थामा इजरायलस्थित नेपाली दूतावासबाट सञ्चालन हुने सीमित घुम्ती सेवाले नेपालीका दैनिक समस्या समाधान गर्न नसकेको उनको भनाइ थियो। उनले साइप्रसमा रहेका नेपालीका लागि नियमित र प्रभावकारी कन्सुलर सेवाको व्यवस्था गर्न सरकारसँग माग गरिन् ।
संग्रौलाले वैदेशिक रोजगारीका नाममा हुने ठगी तथा अत्यधिक शुल्क असुली नियन्त्रण गर्नुपर्नेमा पनि जोड दिइन्। श्रमिकलाई सुरक्षित, व्यवस्थित र पर्याप्त सूचना दिएर मात्रै वैदेशिक रोजगारीमा पठाउने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो । यसैगरी, भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति उनले दुःख व्यक्त गरिन् । प्रवासमा रहेका नेपालीलाई बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि ऐक्यबद्धता जनाउन आग्रह गर्दै उनले राजनीति र वैचारिक सीमाभन्दा माथि उठेर सहयोग जुटाउन जनसम्पर्क समितिलाई आह्वान गरिन् । संकलित सहयोगको शतप्रतिशत उपयोग र त्यसमा पूर्ण पारदर्शिता कायम गर्नुपर्नेमा समेत उनले जोड दिइन् । सहमहामन्त्री संग्रौलाले गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नेपाली कांग्रेस नयाँ चरणमा प्रवेश गरिसकेको बताउँदै अब पार्टी नयाँ कार्यशैलीका साथ अघि बढ्नुपर्ने धारणा राखिन्। कांग्रेसले विगतको गौरवमा मात्र सीमित नरही नयाँ पुस्ता, युवा, महिला तथा श्रमिकका बदलिँदा अपेक्षालाई सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो ।



प्रतिक्रिया दिनुहोस्