काठमाडौं – ऊर्जा मन्त्रालयका सल्लाहकार, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का निवर्तमान अध्यक्ष तथा जलविद्युत् उद्यमी गणेश कार्कीलाई नेपालको ऊर्जा तथा जलविद्युत् क्षेत्रमा पुर्याएको योगदानका लागि ‘Energy Leadership Excellence Award 2026’ प्रदान गरिएको छ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले कार्कीलाई उक्त पुरस्कार प्रदान गरेका हुन् । सम्मान प्राप्त गरेपछि कार्कीले आफूले पाएको सम्मानप्रति आयोजकप्रति आभार व्यक्त गर्दै नेपालको ऊर्जा तथा जलविद्युत् क्षेत्रको विकासमा गरेको योगदानको कदरस्वरूप प्राप्त सम्मानलाई आफूले महत्वपूर्ण उपलब्धिका रूपमा लिएको बताएका छन् ।
कार्कीले नेपालको ऊर्जा क्षेत्रको दिगो विकासका लागि आगामी दिनमा पनि निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। ऊर्जा तथा जलविद्युत् क्षेत्रको विस्तार र विकासमा निजी क्षेत्रको भूमिकालाई थप प्रभावकारी बनाउन आफू सक्रिय रहने उनको भनाइ छ ।नेपालको जलविद्युत् क्षेत्रको विकास र निजी क्षेत्रको लगानीको चर्चा गर्दा अहिले अग्रपङ्क्तिमा आउने नाममध्ये कार्की पनि एक हुन्। इप्पानको नेतृत्वमा रहेर उनले निजी क्षेत्रका जलविद्युत् उत्पादकका समस्या, लगानीको वातावरण, विद्युत् उत्पादन तथा बजार विस्तारलगायतका विषयमा निरन्तर आवाज उठाउँदै आएका छन् । झापाको सामान्य किसान परिवारमा जन्मिएका कार्कीले काठमाडौँमा संघर्ष गर्दै आफ्नो व्यावसायिक यात्रा अघि बढाएका हुन्। कराँतेको मैदानदेखि व्यवसायको क्षेत्रमा समेत संघर्ष र उतारचढाव सामना गर्दै अघि बढेका उनले पछिल्लो समय आफूलाई सफल जलविद्युत् उद्यमीका रूपमा स्थापित गरेका छन् ।
ऊर्जा क्षेत्रका विषयमा स्पष्ट धारणा राख्ने र निजी क्षेत्रका समस्या तथा सम्भावनाबारे प्रखर रूपमा प्रस्तुत हुने कार्कीको परिचय अहिले उद्यमी मात्र नभई ऊर्जा क्षेत्रका प्रभावशाली वक्ताका रूपमा समेत स्थापित भएको छ । सामान्य पारिवारिक पृष्ठभूमिबाट सुरु भएको उनको यात्रा जलविद्युत् उद्यम, निजी क्षेत्रको नेतृत्व र ऊर्जा नीतिसम्बन्धी बहससम्म आइपुगेको छ। यही योगदान र नेतृत्व क्षमताको कदरस्वरूप उनलाई ‘Energy Leadership Excellence Award 2026’ प्रदान गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्