काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि श्रीपाली वस्न्यात समाज नेपालले रु. १ लाख ३४ हजार आर्थिक सहयोग गरेको छ । बाढीका कारण प्रभावित परिवारको पीडामा साथ दिँदै तत्कालीन राहत तथा आगामी पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले समाजले उक्त रकम सहयोग गरेको हो । विपद्को समयमा पीडित नागरिकलाई राहत उपलब्ध गराउनुका साथै उनीहरूको जीवनलाई पुनः सामान्य अवस्थामा फर्काउन सामाजिक संघ–संस्था तथा समुदायको सहकार्य आवश्यक रहेको समाजले जनाएको छ ।
समाजका अध्यक्ष मे. थम्मन बहादुर वस्न्यातले विपद्को समयमा पीडितको साथमा उभिनु सबैको साझा मानवीय दायित्व भएको बताए । उनले भने, “विपद्को समयमा पीडितको साथमा उभिनु हाम्रो मानवीय दायित्व हो। हामीले प्रदान गरेको यो सहयोग रकम मात्र होइन, भोटेकोशी बाढीबाट प्रभावित दाजुभाइ तथा दिदीबहिनीप्रतिको हाम्रो ऐक्यबद्धता, सद्भाव र साथको प्रतिबद्धता पनि हो।”
अध्यक्ष वस्न्यातले राहतसँगै प्रभावित नागरिकको दीर्घकालीन पुनर्स्थापनामा समेत ध्यान दिनुपर्ने बताउँदै विपद्को घडीमा सबै पक्षबाट सहयोग र सहकार्य हुनुपर्नेमा जोड दिए । “विपद् कसैको व्यक्तिगत समस्या मात्र होइन, यो सम्पूर्ण समाजको चुनौती हो। सक्षम व्यक्ति, सामाजिक संघ–संस्था तथा विभिन्न निकायले आफ्नो क्षमताअनुसार सहयोग गर्न सके प्रभावित परिवारमा नयाँ आशा र आत्मविश्वास पैदा गर्न सकिन्छ,” उनले भने । श्रीपाली वस्न्यात समाज नेपालले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत मानवीय तथा सामाजिक सेवाका कार्यलाई निरन्तरता दिने जनाएको छ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनर्स्थापनाका लागि गरिएको यस सहयोगले “विपद्मा सबैको साथ, मानवतामा सबैको हात” भन्ने भावनालाई थप बलियो बनाएको छ ।



प्रतिक्रिया दिनुहोस्