काठमाडौं – भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबिच भेटवार्ता भएको छ । बिहीवार अपराह्न ५ बजे नयाँ दिल्लीस्थित कर्तव्य भवन परिसरमा रहेको भारतीय वित्त मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको हो ।
भेटमा दुवै देशका सरकारी प्रतिनिधिमण्डलका सदस्यहरू सहभागी थिए । भेटवार्ताका क्रममा नेपालमा विपद्पछिको पुनर्निर्माणमा सहयोगबारे छलफल भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । साथै, दुई देशीय व्यापार, लगानी, ऊर्जा, कनेक्टिभिटी लगायतका विषयमा पनि कुराकानी भएको दूतावासले जानकारी गराएको छ । वाग्ले दुई दिने भ्रमणका लागि आज दिल्ली गएका थिए । वाग्लेले अर्थमन्त्री सीतारमणसँगै विदेशमन्त्री डा. एस जयशंकरसँग पनि भेटवार्ता गर्नेछन् । भ्रमणका क्रममा उनी कन्फिडेरेशन अफ इन्डियन इन्डस्ट्रिज (सीआईआई) को एक कार्यक्रममा सहभागी हुनेछन् ।
उक्त कार्यक्रममा उनले हस्पिटालिटी र वेलनेस सेक्टरमा भारतीय लगानी भिर्त्याउनेबारे छलफल गर्ने बताइएको छ। त्यस्तै, दिल्ली स्कुल अफ इकोनोमिक्समा पनि उनले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । भारतीय लगानी नेपालमा ल्याउने प्रयासस्वरुप अर्थमन्त्री वाग्लेले यो भ्रमण गर्न लागेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्