काठमाडौँ – रुपन्देहीको बुटवलस्थित गैरनाफामूखी संस्थाद्वारा सञ्चालित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा कार्यरत श्रमिकहरूबाट चाडपर्व खर्च नपाएको भन्दै परेको गुनासोका आधारमा श्रम तथा रोजगार कार्यालय बुटवलले मिति २०८३/०६/३० मा अस्पताललाई पत्र पठाउँदै श्रमिकहरूको चाडपर्व खर्च भुक्तानी गर्न निर्देशन दिए पछि २४० जना कर्मचारीहरूलाई चाडपर्व खर्च उपलब्ध गराएको छ ।
उक्त पत्रमा श्रम ऐन, २०७४ को दफा ३७ बमोजिम प्रत्येक श्रमिकले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्च बापत पाउनुपर्ने प्रावधान स्मरण गराइएको थियो। साथै, एक वर्ष सेवा अवधि पूरा नभएका श्रमिकहरूको हकमा निजले गरेको सेवा अवधिको अनुपातमा चाडपर्व खर्च उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था रहेको पत्रमा उल्लेख थियो। अस्पतालले आफ्ना कर्मचारीहरूलाई यस वर्षको चाडपर्व (दसैँ) खर्च भुक्तानी गरेपश्चात् सोको विवरण श्रम तथा रोजगार कार्यालय बुटवललाई पेस गरेको छ।
श्रम कार्यालयको पत्रको जवाफ दिँदै गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले मिति २०८३/०७/०९ मा २४० जना कर्मचारीहरूलाई मिति असोज २९ गते नै एक महिनाको आधारभूत पारिश्रमिक बराबरको चाडपर्व खर्च बापतको रकम भुक्तानी गरिसकेको बताएको हो। २४० कर्मचारीहरूको सेवा सुविधा सहितको ४२ लाख ५४ हजार रुपैयाँ बराबर भुक्तानी गरेको प्रमाण समेत पेस गरेको छ। अस्पतालले भुक्तानीको पुष्टि स्वरूप बैङ्किङ कारोबारका प्रमाणित सूचीहरूसमेत श्रम कार्यालयमा पेस गरेको छ। अस्पताल प्रशासनका अनुसार गैरनाफामूखी रूपमा सञ्चालित यस स्वास्थ्य संस्थाले आफ्ना सम्पूर्ण कर्मचारीहरूको हक र सुविधाप्रति प्रतिबद्ध रहँदै समयमै भुक्तानी प्रक्रिया सम्पन्न गरेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्