बर्दिया – वर्षौंदेखि आवागमनको समस्या भोग्दै आएका बर्दियाका स्थानीयवासीका लागि राहत हुने गरी गुलरिया नगरपालिका–४ बगही र बारबर्दिया नगरपालिका–११ जब्दी जोड्ने बबई नदीको जब्दीघाटमा नयाँ पुल निर्माण हुने भएको छ । पुल निर्माणका लागि सडक डिभिजन कार्यालय नेपालगञ्ज र चितवनको भरतपुर–३ स्थित एमआर एन्ड ग्रुपबीच गत कात्तिक १६ गते ठेक्का सम्झौता भएको हो । सडक डिभिजन कार्यालयका प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर नरेन्द्रप्रसाद भट्टका अनुसार निर्माण कम्पनीले सम्झौता भएको मितिले ४२ महिनाभित्र पुल निर्माण सम्पन्न गर्नुपर्नेछ ।
रु ६७ करोड ४५ लाख ६९ हजार १५० लागतमा निर्माण हुने पुल दुई लेनको हुनेछ । पुलको लम्बाइ ४२० मिटर र चौडाइ ११ मिटर रहनेछ । निर्माण कम्पनीले सम्झौताको नौ महिनाभित्र माटो परीक्षण प्रतिवेदन तयार गरी पुलको डिजाइन स्वीकृत गराउनुपर्ने व्यवस्था गरिएको छ । सडक डिभिजन कार्यालय नेपालगञ्जले विसं २०८३ असारमा पुल निर्माणका लागि ठेक्का आह्वान गरेको थियो । ठेक्का प्रक्रियामा चार निर्माण व्यवसायीले प्रतिस्पर्धा गरेकामा प्राविधिक तथा आर्थिक प्रस्तावको मूल्याङ्कनपछि एमआर एन्ड ग्रुप छनोट भएको कार्यालयले जनाएको छ ।
पूर्व–पश्चिम राजमार्गदेखि सदरमुकाम जोड्ने महत्वपूर्ण मार्ग
जब्दीघाटको पुल बारबर्दिया नगरपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गको रम्मापुर चोकदेखि जयनगर बजार हुँदै जिल्ला सदरमुकाम गुलरिया र वडा नं १० स्थित नेपाल–भारत सीमानाका रजनवास जोड्ने प्रमुख सडक मार्गमा पर्छ । बर्दिया क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य ठाकुरसिंह थारुले पुल निर्माणको काम यथाशीघ्र सुरु गरी निर्धारित समयभित्र सम्पन्न गर्नुपर्ने बताउनुभएको छ । उक्त पुल सञ्चालनमा नहुँदा पूर्व–पश्चिम राजमार्गबाट जयनगर बजार हुँदै गुलरिया तथा भारत आवतजावत गर्ने स्थानीयवासी र यात्रुले लामो समयदेखि सास्ती भोग्दै आएका छन् । पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको जब्दीघाटको पुरानो पुल हस्तान्तरण नहुँदै विसं २०७२ को बाढीले भासिएको थियो । पुल भासिएपछि ठूला सवारीसाधनको आवागमन बन्द भए पनि पैदलयात्री, मोटरसाइकल र अटोरिक्साजस्ता साना सवारीसाधन सञ्चालन हुँदै आएका थिए । तर, विसं २०७९ को बाढीले पुलका चारवटा मुख्य पिलर जोड्ने तीनवटा स्ल्याब बगाएपछि आवागमन पूर्ण रूपमा बन्द भएको इन्जिनियर भट्टले जानकारी दिनुभयो ।
डुङ्गा र काठे पुलको भरमा स्थानीयवासी
बारबर्दिया नगरपालिका–११ फच्कहवाकी मेनका चौधरीका अनुसार पुलका स्ल्याब बगाएपछि स्थानीयवासीले शुल्क तिरेर डुङ्गा वा काठे पुलमार्फत बबई नदी वारपार गर्नुपर्ने बाध्यता छ । नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता भएपछि वर्षौंदेखि भोग्दै आएको आवागमनको समस्या अन्त्य हुने आशा पलाएको उहाँले बताउनुभयो । बर्खायाममा बबई नदीमा बाढी आउँदा नदी वारपार गर्न झनै कठिन हुने गरेको छ । पुल नहुँदा गुलरिया नगरपालिका–४ का स्थानीयवासी सदरमुकाम पुग्न करिब १० किलोमिटर घुमेर जानुपर्ने वा जोखिम मोलेर डुङ्गाबाट नदी पार गर्नुपर्ने अवस्था छ । स्थानीय राममिलन चौधरीका अनुसार शुल्क तिरेर नदी वारपार गर्नुपर्दा सर्वसाधारणलाई थप आर्थिक भार पर्ने गरेको छ । नयाँ पुल निर्माण सम्पन्न भएपछि गुलरिया र बारबर्दियाका स्थानीयवासीको आवागमन सहज हुनुका साथै सदरमुकाम, पूर्व–पश्चिम राजमार्ग र नेपाल–भारत सीमावर्ती क्षेत्रबीचको यातायात सम्पर्कसमेत सहज हुने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया दिनुहोस्